मधुसूदन रायमाझी
न्युज अफ नेपाल, काठमाडौं ।नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो कार्यकालमा प्रहरी संगठनलाई व्यवसायिक निष्पक्ष र जिम्मेवार बनाउने बताउनुभएको छ । उहाँले संगठनको मनोबल थप उच्च बनाउन भूमिका खेल्ने बताउदै संगठनलाई प्रभावकारी ढंगबाट सञ्चालन गरिने बताउनुभएको हो ।
न्युज अफ नेपालसँग कुराकानी गर्दै नवनियुक्त महानिरीक्षक थापाले विगतमा प्रहरी संगठनको प्रमुख हुँदा चल्ने गरेको नकारात्मक अवस्था सृजना नभएकोमा खुसी व्यक्ति गर्दै संगठनमा सबैको साथ र सहयोग लिएर मात्र अगाडि बढने बताउनुभयो । विगतमा प्रहरी संगठनको प्रमुख हुने क्रममा देखिएको बेमेलको कारण संगठनलाई सकारात्मक प्रभाव पार्ने काम भएको थियो , यस पटक त्यस्तो नकारात्मक असर पर्ने कुनै पनि काम भएन, उहाँले भन्नुभयो ।
प्रहरी संगठन भनेको इमरर्जेन्सी सेवा पनि भएकाले तत्काल निर्णय लिनको लागि आफू नहिच्किचाउने बताउदै थापाले संगठनको नीतिगत रुपमा लिनु पर्ने निर्णय अधिकृतहरु सहतिको समझदारीमा मात्र लिने बताउनुभयो ।
कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि प्रहरी संगठनले खेल्नु पर्ने भूमिकालाई थप प्रभावकारी बताउनेतर्फ ध्यान दिने बताउदै प्रहरी संगठन संघीयतामा रुपान्तरण हुने क्रममा रहेकाले प्रभावकारी व्यवस्थापनमा ध्यान दिने बताउनुभयो ।
‘मेरो मुख्य ध्यान दिनरात खटिने संगठनका तल्ला तहका कर्मचारीहरुको मनोबल माथि उठाउनु हुनेछ, संगठनका कर्मचारीहरुको सेवा सुविधा बनाउन पनि भूमिका निर्वाह गर्छु’, थापाले भन्नुभयो,‘संगठनलाई थप व्यवसायी, निष्पक्ष र जिम्मेवार बनाउने काममा अहोरात्र लाग्छु ।’











प्रतिक्रिया