कलाकार पक्राउको नाटकसंगै ककाकीकीको ट्रेलर सार्वजनिक


हास्यप्रधान फिल्म ककाकिकीको ट्रेलर सार्वजनिक कार्यक्रममा शनिवार एउटा अनपेक्षित दृश्य देखियो। काठमाडौँको न्यूरोडस्थित रञ्जना सिनेप्लेक्समा आयोजित कार्यक्रम चल्दै अचानक प्रहरी प्रवेश गरे। प्रहरीले निर्देशक विक्की अग्रवाल, अभिनेत्री गौरी मल्ल, कलाकार मनोज गजुरेल र शिशिर वाङ्देललाई नियन्त्रणमा लिएर हलबाट बाहिर निकाल्यो। केहीबेरमै उनीहरूलाई प्रहरी भ्यानमा राखेर लगियो।

कार्यक्रममा सहभागी एकाएक देखिएको यो दृश्यले आश्चर्यमा परे। ट्रेलर सार्वजनिक कार्यक्रम चलिरहेका बेला कलाकारलाई प्रहरीले नै पक्राउ गरेर लगेपछि सामाजिक सञ्जालमा समेत विभिन्न चर्चा सुरु भयो। तर, यो वास्तविक प्रहरी कारबाही नभई फिल्म ककाकिकीको प्रचारका लागि निर्माण टिमले तयार पारेको एउटा नाटकीय प्रस्तुति थियो।

फिल्मको कथामा पात्रहरूलाई प्रहरीले नियन्त्रणमा लिएर लैजाने दृश्य समावेश छ। त्यही दृश्यलाई कार्यक्रममा नाटकीय ढंगले प्रस्तुत गरेर निर्माण टिमले फिल्मको प्रचार गरेको हो। अहिले सामाजिक सञ्जालमा कलाकार पक्राउ परेको भन्दै चर्चा भइरहेका बेला निर्माण टिमले उक्त दृश्य फिल्मको प्रचारात्मक प्रस्तुति मात्रै भएको स्पष्ट पारेको छ। निर्माण टिमले यो विषयमा प्रहरीसामु समेत स्पष्टीकरण दिएको छ।

आगामी मंसिर ११ गते रिलिजमा आउने फिल्मको ट्रेलरमा गाउँमा अस्पताल बनाउन गर्ने विभिन्न प्रयासलाई हास्यप्रधान शैलीमा प्रस्तुत गरिएको छ। अस्पताल निर्माणका लागि कतिपय पात्र बैंक लुटेरै भए पनि पैसा जुटाउनुपर्ने निष्कर्षमा पुगेको देखिन्छ। गाउँको आवश्यकता, पात्रहरूको सोच र अस्पताल बनाउने योजनाले फिल्मको कथालाई हास्यपूर्ण ढंगले अगाडि बढाएको ट्रेलरले संकेत गर्छ।

कार्यक्रममा अभिनेत्री गौरी मल्लले पछिल्लो समय आइरहेका फिल्मभन्दा केही फरक बनाउने प्रयास ककाकिकीको निर्माण टिमले गरेको दाबी गरिन्। कलाकार शिशिर वाङ्देलले निर्माण टिममा युवा जोश भएका साथीहरू रहेकाले काम गर्दाको अनुभव राम्रो रहेको बताए। कलाकार मनोज गजुरेलले लामो समयपछि पुनः फिल्ममा जोडिन पाएको र यो आप्mनो दोस्रो फिल्म भएको जानकारी दिए। निर्देशक विक्की अग्रवालले नेपाली दर्शकलाई मन पर्ने गरी फिल्म निर्माण गरिएको दाबी गरे।

विक्की अग्रवाल र श्रद्धा प्रसाईंको संयुक्त निर्देशनमा बनेको फिल्ममा तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, शिशिर वाङ्देल, दिया मास्के, मनोज गजुरेल, प्रकाश घिमिरे, माओत्से गुरुङ, सुवास गजुरेल, रेअर राई, खड्ग बहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी), मुकुन्द मैनाली, रामबाबु रेग्मी, सिडी विजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, विश्वास तिमल्सिना (बिटी कान्छा), एलिसा भोग, सुवर्ण थापा, कमल देवकोटालगायतका कलाकारले अभिनय गरेका छन्।