लन्डन, (एजेन्सी)
क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय करिअरबाट संन्यास लिएपछिको खेलमा पोर्चुगल पराजित भएको छ । नेसन्स लिग कपअन्तर्गत खेलमा पोर्चुगल आफ्नै घरेलु मैदानमा डेनमार्कसँग ४–१ ले हारेको हो । डेनमार्कलाई जित दिलाउन रासमस होइलन्डले २ गोल गरेका थिए ।
४१ वर्षीय रोनाल्डोले गत सातामा सामाजिक संजालमार्फत् अन्तर्राष्ट्रय फुटबलबाट संन्यास लिएको घोषणा गरेका थिए । उनले संन्यास लिएको केही दिनपछि पोर्चुगलका प्रशिक्षक जोर्ज जेससले रोनाल्डोलाई डेनमार्क र वेल्सविरुद्ध टोलीमा राख्ने बताएका थिए ।
तर, शनिबार ब्रागामा भएको डेनमार्कविरुद्धको खेल उनको विदाईको रुपमा हेरिएपनि रोनाल्डो भने उपस्थित भएनन् । हरेक खेलाडीले उनलाई सम्मान गर्नका लागि रोनाल्डो र ७ अंक लेखिएको जर्सी लगाएका थिए । समर्थकहरूले रोनाल्डो नाम दर्शाएका थिए । खेलको सातौं मिनेटमा थ्यांक यू क्याप्टेन लेखिएको ब्यानर स्कोरबोर्डमा प्रस्तुत गरिएको थियो । तर, डेनमार्कले उनीहरूको खुशीयाली मनाउने क्षणलाई खराब पारिदिएको थियो ।
पहिलो हाफ सकिन केही मिनेटअघि मिडफिल्डर पिइरे इमिले होइबेर्गले पेनाल्टीमा गोल गरेर डेनमार्कलाई १–० को अग्रतामा राखेका थिए । पोर्चुगलको बक्समा रुबेन डियासको ह्यान्ड बल भएपछि डेनमार्कलाई पेनाल्टीको अवसर दिइएको थियो । जसमा होइबेर्गले गोल गरे ।
दोस्रो हाफमा होइलन्डले आठ मिनेटमा दुई गोल गरेर टोलीको अग्रता ३–० मा पु¥याएका थिए । यसपछि डिफेन्डर जोएचिम एन्डरसनले गोल गरेपछि ७५ औं मिनेटसम्ममा पाहुना टोली ४–० को अग्रतामा पुगेको थियो । स्टपेज समयमा बर्नान्डो सिल्भाले एक गोल फर्काएपछि पोर्चुगलका लागि सान्त्वना गोल भएको थियो।
पोर्चुगलले नेसन्स लिगमा सुरुआतको चार खेलमा जित हासिल गरेर पहिले नै क्वार्टरफाइनलमा पुगिसकेको थियो । अब, समूहको अन्तिम खेलमा टोलीले १७ नोभेम्बरमा वेल्ससँग खेल्नेछ ।
गत सेप्टेम्बरमा नर्वेविरुद्धको खेलमा बेन्चमा सिमित गराएपछि रोनाल्डोले क्याम्प छाडेर गएका थिए । पोर्चुगलको क्याम्पबाट बाहिरिएपछि रोनाल्डोलाई पोर्चुगलको फुटबल संघले २१५ पाउन्ड जरिवाना गराउनुका साथै ३० दिन निलम्बन गरेको थियो । उनले पछि प्रशिक्षक जेससले धोखा दिएको भन्दै क्याम्प छाडेको सामाजिक संजालमा उल्लेख गरेका थिए ।











प्रतिक्रिया