यार्सागुम्बाको लोभ, लुटपाट र विश्वासघातबीच हिमाली भेगमा अस्तित्वको संघर्ष। यही कथालाई पर्दामा उतारेको फिल्म हिमालयन गोल्डको ट्रेलर सार्वजनिक गरिएको छ।
आगामी शुक्रवार रिलिमा आउने फिल्मको सार्वजनिक करिब दुई मिनेटको दोस्रो ट्रेलरले हिमाली क्षेत्रमा यार्सागुम्बा संकलन गर्न पुग्ने मानिसहरूले सामना गर्ने जोखिम, लुटपाट र बदलाको कथा उजागर गरेको छ। ट्रेलरमा अभिनेता कर्मा शाक्य खलपात्र प्रकाशका रूपमा प्रस्तुत छन्। कर्माका अनुसार परिस्थितिले पात्रलाई यार्सागुम्बा लुट्नेदेखि विभिन्न आपराधिक गतिविधिमा पु¥याएको हुन्छ। फिल्ममा गीतसमेत नरहेको र कथात्मक प्रस्तुतिमा जोड दिइएको उनले बताएका छन्।
मुस्ताङको उच्च हिमाली क्षेत्र र गुफामा छायांकन गरिएको फिल्ममा अक्सिजनको कमी, धुलो र कठिन भौगोलिक अवस्थाबीच एक्सन दृश्य खिच्नु चुनौतीपूर्ण रहेको कर्माले सुनाए। यार्सागुम्बा संकलन क्षेत्रको वास्तविक जीवन, त्यससँग जोडिएका संघर्ष र जोखिमबारे आफूले पहिले पनि अध्ययन तथा अनुभव गरेको उनको भनाइ छ।
फिल्मको सबैभन्दा भावनात्मक पक्ष वरिष्ठ अभिनेता सुनिल थापाको अन्तिम अभिनय हो। ट्रेलरमा थापा फरक तथा नकारात्मक भूमिकामा देखिएका छन्। निर्देशक धिराज राजवंशीले उनको अन्तिम अभिनय नेपाल र भारतका दर्शकमाझ पु¥याउनु उनको योगदानप्रतिको श्रद्धाञ्जली हुने बताए। परीक्षा लिम्बू मुख्य महिला पात्रका रूपमा प्रस्तुत फिल्ममा कर्मा शाक्य, सुनिल थापा, मेनुका प्रधान, राहुल एन. मुखिया, अंकित खड्का, सुनिल तामाङ, तेन्जिङ ठकुरी, सविता अधिकारी, ऋषिकेश बस्याललगायतको अभिनय छ।
अ ह्वाइट एलिफेन्ट मोसन पिक्चर प्रोडक्सनको ब्यानरमा मीनबहादुर भामद्वारा निर्मित फिल्ममा शैलेन्द्र डी. कार्की लाइन प्रोड्युसर, सुयश ज्ञवाली सह–निर्माता र राजु राजवंशी कार्यकारी निर्माता छन्। निर्देशक राजवंशीकै कथा रहेको फिल्मको पटकथा दीपेन्द्र गौचन र धीराज राजवंशीले लेखेका छन्। विशष्ठ प्रधानको डीओपी, निमेश श्रेष्ठको सम्पादन तथा सजल लोप्चन र करुण थापाको भीएफएक्स रहेको फिल्मको वितरण नेपालमा एप्पल इन्टरटेनमेन्टले गर्दैछ।
फिल्मले भारतमा प्रतिष्ठित वितरक एए फिल्म्समार्फत प्रदर्शनको अवसर पाएको छ। बहुबली, आरआरआर र केजीएफजस्ता फिल्म वितरण गरेको ए ए फिल्म्स्ले यसलाई भारतभर प्रदर्शन गर्नेछ। मध्यपूर्वमा फार्स फिल्म मोसन पिक्चर्स र जापानमा टोकियो ड्रिम इन्टरटेनमेन्ट वितरक छन्। निर्माण टिमका अनुसार ठूलो भारतीय वितरकमार्फत भारतव्यापी प्रदर्शन पाउने यो पहिलो नेपाली फिल्म हो। फिल्मको कथाले भाषा र भौगोलिक सीमा पार गरेर दर्शकस“ग जोडिने विश्वास निर्माण टिमको छ।











प्रतिक्रिया