नेपाललाई ट्रान्जिट बनाएको खुलासा
काठमाडौँ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय लागूऔषध तस्करीको ट्रान्जिटका रूपमा प्रयोग गर्दै आएको आशंका गरिएको सञ्जालका एक मुख्य व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । थाइल्यान्डबाट नेपाल आएका भारतको महाराष्ट्र, पुणेका रेवराज तिघारेको साथबाट ५ दशमलव ५ किलो सेतो हेरोइन बरामद भएपछि अन्तर्राष्ट्रिय लागूऔषध कारोबारको नयाँ सञ्जालबारे अनुसन्धान अघि बढेको हो ।
लागूऔषध नियन्त्रण ब्युरोको विमानस्थलस्थित टोलील शंकास्पद यात्रुको प्रोफाइलिङ तथा निगरानी गर्ने क्रममा तिघारेमाथि शंका गरी जाँच गरेको थियो । उनको लगेजभित्र खरायो र बिरालोको खानाका प्याकेटमा लुकाएर राखिएको अवस्थामा हेरोइन फेला परेको प्रहरीले जनाएको छ । बरामद लागूऔषधको नेपाली अवैध बजार मूल्य प्रतिग्राम ४० हजार रुपैयाँका दरले करिब २२ करोड रुपैयाँ रहेको ब्युरोको आँकलन छ ।
प्रहरी अनुसन्धानबाट तिघारे यसअघि पनि नेपाललाई ट्रान्जिट बनाएर दुईपटक लागूऔषध भारत पु¥याएको खुलेको छ । उनी पहिलोपटक हवाई मार्ग हुँदै र दोस्रोपटक स्थलमार्ग हुँदै भारत पुगेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । यसले नेपाललाई लागूऔषध ओसारपसारको मार्गका रूपमा प्रयोग गरिएको हुन सक्ने आशंकालाई थप बल पु¥याएको छ ।
तिघारेको यात्रा विवरणसमेत अनुसन्धानको महत्वपूर्ण आधार बनेको छ । उनी लाओस, जिम्बाब्वे, सुडान, बंगलादेश, भियतनाम र कम्बोडियालगायतका देश भ्रमण गरिसकेको खुलेको छ । प्रहरीका अनुसार उनी अन्तर्राष्ट्रिय लागूऔषध कारोबारीको सञ्जालका मुख्य व्यक्तिमध्ये एक रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । उनको साथबाट राहदानी, मोबाइल फोन र मेकानिकल इन्जिनियरिङसम्बन्धी प्रमाणपत्रसमेत बरामद भएको छ ।
अनुसन्धान अधिकारीहरूका अनुसार बरामद हेरोइनको गन्तव्य भारत रहेको छ । भारतीय बजारमा यसको मूल्य नेपालभन्दा अझ बढी पर्ने भएकाले ठूलो परिमाणमा लागुऔषध ओसारपसारको प्रयास भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार ठूलो परिमाणमा सेतो हेरोइनको कारोबारमा दोषी ठहरिने व्यक्तिलाई १५ वर्षदेखि जन्मकैदसम्म र पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ । पक्राउ परेका तिघारेमाथि सोही ऐनअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया