नेपाल प्रहरीका निष्कलंक आईजीपी शैलेश थापा, को हुन थापा ?



मधुसूदन रायमाझी

न्युज अफ नेपाल, काठमाडौं । नेपाल प्रहरीको २८ औं आईजीपीमा शैलेश थापा क्षेत्री नियुक्त हुनुभएको छ । सरकारले प्रहरीका एआईजी थापालाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो ।

थापा २०६७ साल फागुन १५ गते एआईजीमा बढुवा हुनुभएको थियो । गृहमन्त्रालयले जेष्ठता, कार्यक्षमता, र कार्यसम्पादनसमेतको मुल्यांकनका आधारमा आईजीपीको बढुवा गर्न मन्त्रिपरिषद्मा सिफारिस गरे अनुसार आज बसेको मन्त्रिपरिषको बैठकले थापालाई आईजीपी बनाएको हो ।

२२ महिनाको प्रहरी संगठनको नेतृत्व सम्हाल्नु भएका थापा २०४९ बैशाख १९ प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा सेवा प्रवेश गर्नुभएको थियो ।

नेपाल प्रहरीमा चार वर्षयता भएका आईजीपी सिधै डीआईजीबाट नियुक्त भएकोमा यस पटक भने २८ औं महानिरीक्षक भने एआईजीबाट नै नियुक्त भएको छ । थापाले २०७९ बैशाख १८ गतेसम्म प्रहरी संगठनको नेतृत्व सम्हाल्नुहुनेछ । नेपाल प्रहरीका एआईजी थापा हाल मानवश्रोत एवं प्रशासन विभागको जिम्मेवारीमा रहनुभएको थियो ।

व्यावसायिक छवि बनाउन सफल हुनुभएका थापाको लामो समय राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र प्रहरी महानिरीक्षकको सचिवालयमा विताउनुभएको अनुभव रहेको छ । इन्सपेक्टर, डीएसपी, एसपी, एसएसपी र डीआईजी हुँदासम्म एकेडेमी र सचिवालयमा काम गरेको लामो अनुभव छ । प्रहरी निरीक्षक हुँदा सल्यान र सिन्धुपाल्चोकमा काम गर्नुभएका थापाले डीएसपी हुँदा धादिङको प्रमुख, एसपी हुँदा कास्की र झापाको प्रमुख रहेर काम गर्नुभएको थियो ।

डीआईजी हुँदा महानगरीय प्रहरी कार्यालय रानीपोखरीको प्रमुख रहेर काम गर्नुभएका उहाँले नेपाल प्रहरीको दुई पटक प्रवक्ताको जिम्मेवारीसमेत सम्हालि सक्नुभएको छ । सेवा प्रवेश गरेपछि दुई पटक बाहेक सधै पहिलो नम्बरमा बढुवा हुन सफल हुनुभएका थापा संगठनभित्र व्यवसायिक र निष्कलंक छवि रुपमा चिनिदै आउनुभएको छ ।

को हुन महानिरीक्षक थापा ?
वि.सं. २०२५ साल मंसिर २३ गते भक्तपुर सुर्यविनायक नगरपालिका–५ साविक कटुन्जे गाविस–९ मा जन्मिनुभएका थापाले २०४९ वैशाक १९ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । थापाका बुबा पनि पूर्व डिजाइजीबाट अवकाश हुनुभएको थियो ।

बुबाकै प्रेरणाबाट प्रहरी सेवामा प्रवेश गरेको बताउनुहुने महानिरीक्षक थापाले भक्तपुरको शारदा माध्यामिक विद्यालय व्यासीबाट २०४० सालमा एसएलसी पास गर्नुभएको थियो । नेपाल कर्मश क्याम्पस मिनभवनबाट ब्याचुलर पास गर्नुभएका थापाले त्रिभुवन विश्वविद्यालयबाट पोलटिकल साइन्समा मास्टस गर्नुभएको छ ।

थापाले नेपाली प्रहरी एकेडेमी, अमेरिकाको फेडेरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) रआर्मी स्टाप कलेजबाट ग्रेजुएशन गर्नुभएको छ । थापा बोस्निया, पूर्वी टिमोर र सुडान मिसनमा खटिनुभएको थियो । संगठनको कामको शिलसिलामा थापाले २२ वटा भन्दा बढी देशमा सहभागी हुनुभएको थियो ।

थापाले न्युज अफ नेपालसँग भन्नुभयो,‘प्रहरी सेवामा निवेदन दिदा पहिलो नम्बरमा नाम निकाल्न सफल भएको थिए, दुई पटक बाहेक संगठनमा सधै पहिलो नै भए ।’ पुस्तक अध्ययन गर्न रुची राख्ने थापाले फुर्सदको समय आर्दश व्यक्तिहरुको संघर्ष र सफलताको कथा पढने गरेको बताउनुहुन्छ । ‘पुस्तक बढदा अपठ्यारो परिस्थिमा निर्णय लिन सजिलो हुन्छ, भाषामाथिको पकड बढछ’,उहाँले भन्नुभयो,‘आर्दश व्यक्तिको जीवनी पढदा अपठ्यारोमा बाटो पहिल्याउन सजिलो हुन्छ ।’

 

प्रतिक्रिया दिनुहोस्