बिहान बिहानै बासेर मुद्दा खेपेको फ्रान्सेली भालेको मृत्यु



एजेन्सी ।

बिहान बिहानै बासेर मुद्दा खेपेको ‘मोरिस’ नामक कुखुराको भालेको ६ वर्षको उमेरमा मृत्यु भएको छ। उक्त भाले फ्रान्सको ग्रामीण इलाका ओलेरो नामक टापुमा रहेको एक घरमा बस्दै आएको थियो । ओलेरोमा छुट्टी बिताउनका लागि निर्माण गरिएको घरमा बस्दै आएका एक वृद्ध दम्पतीले आफूहरूलाई बिहानै बासेर भालेले दुःख दिएको भन्दै ध्वानी प्रदूर्षणसम्बन्धी मुद्दा दिएका थिए । त्यसपछि ग्यालिक मूलको कुखुराको भालेप्रति राष्ट्रिय अन्तर्राष्ट्रिय समर्थन प्राप्त भएको थियो । उसलाई बचाउनको लागि एउटा निवेदनमा दशौँ हजारले हस्ताक्षर गरेका थिए ।

अन्ततः गत सेप्टेम्बरमा अदालतले मोरिसका मालिकको पक्षमा फैसला सुनाए र उजुरी दिने व्यक्तिलाई क्षतिपूर्ति बापत १,१०० अमेरिकी डलर (करिब १३४,००० रुपैयाँ) जरिवाना गराएको थियो। उक्त भालेको मृत्यु गत मे महिनामा भएको बताइएको छ। तर उसलाई पालेका व्यक्तिले भने ढिलो गरी यो समाचार सार्वजनिक गरेका छन्।

‘लकडाउनकाबीच मानिससँग चिन्ता गर्नुपर्ने धेरै विषय छन् भन्ने मलाई लाग्यो,’ कोरिन फेसेअउले एउटा फ्रान्सेली रेडियोमा भनिन्’– ‘हामीले पुनः नयाँ भाले किनेका छौँ। उसको नाम पनि मोरिस नै राखेका छौँ। उसको पनि आवाज मिठो छ। तर, उ हाम्रो पुरानो मोरिस कहिल्यै बन्न सक्दैन।’ एएफपीलाई उद्धृत बीबीसीले समाचार उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्