टोलको नाम राख्न महानगरको स्वीकृति



न्युज अफ नेपाल, काठमाडौं ।

नयाँ बस्तीहरुको नाम जथाभावि राख्ने क्रमलाई रोक्न अबदेखि कुनै टोल, बस्तीको नाम राख्न महानगरपालिकाको स्वीकृति लिनुपर्ने प्रावधान ल्याएको छ ।

जथाभावि नामाकरणले ठाउँको ऐतिहासिक पहिचान नामेट पार्न सक्ने भन्दै काठमाडौं महानगरपालिकाले सो नीति लिएको हो । काठमाडौंमा बढ्दो जनसंख्या र अन्धाधुन्द बस्ती निर्माणसंगै आफूखुशी टोल र बस्तीको नामाकरण गर्ने क्रम बढेको छ । यसले महानगरपालिकाको धार्मिक, सांस्कृतिक इतिहासमा प्रतिकूल पारेको भन्दै सो नीति लिइएको हो ।

‘आधिकारिक नामाकरण हुन बाँकी टोल, सडक, मार्ग, चोक आदिको नामाकरण गर्नुपर्दा महानगरपालिकाको स्वीकृति अनिवार्य लिनुपर्ने ब्यबस्था पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको हो । ’ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भन्नुभयो ।

त्यसैगरी महानगर क्षेत्रभित्र रहेका मूर्त अमूर्त सम्पदाहरुको ऐतिहासिक, धार्मिक, साँस्कृतिक बिवरण सहितको तथ्याङ्क संकलन तथा डिजिटल अभिलेखिकरण गर्ने कार्य प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, काठमाडौं महानगरपालिका क्षेत्रभित्रका विभिन्न धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक महत्वका स्थान तथा सम्पदाहरुको मौलिक एवं प्राचीन नामहरुको खोजी गरी तिनको पुनस्र्थापना गर्ने नीति कार्यक्रम ल्याएको छ ।
पशुपति क्षेत्रभित्रको भण्डारखाल परिसरको संरक्षण, सम्वद्र्धन र व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोषसँग आवश्यक सहकार्य गरिनेछ, हाँडीगाउँको लिच्छवीकालिन सभ्यताबारे थप विस्तृत अध्ययन अनुसन्धान गर्ने, काठमाडौंको ऐतिहासिक तथा साँस्कृतिक सेतो मच्छिन्द्रनाथको जात्राबारे विस्तृत अनुसन्धान गरी दस्तावेज प्रकाशन गर्ने जस्ता नीति पनि महानगरपालिकाले लिएको छ । ‘काठमाडौं महानगरको इतिहास, संस्कृति, मौलिक परम्परा समेटी तस्बीर, चित्रकथा, श्रव्यदृश्य सामाग्री निर्माण गरिनेछ । साथै विभिन्न स्थानहरुमा कलात्मक मूर्ति प्रतिस्थापन तथा भित्ते चित्र राखिनेछ,’ नीति तथा कार्यक्रममै उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्