सर्लाहीका कोरोना संक्रमितको संख्या ५३०, लालबन्दी नगरपालिका सुरक्षित



शंखर पहाडी, सर्लाही ।

जिल्लामा दुई जना कोरोना संक्रमित थपिएका छन । जिल्लाकोे विष्णु गाउँपालिकाका दुई जना कोरोना संक्रमित थपिए सँगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या ५ सय ३० पुगेको छ ।

बिहिवार विष्णु गाउँपालिका ३ मा १८ वर्षीय एक युवक र ४८ वर्षीय एक पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिनु भयो । विष्णु गाउँपालिकामा दुई जना कोरोना संक्रमित थपिए गाउँपालिकामा कोरोना संक्रमित हुनेको संख्या ६९ पुगेको छ ।

६९ जना कोरोना संक्रमित मध्ये गाउँपालिका ८ बत्रौल स्वास्थ्य चौकीको नयाँ भवनमा संचालन गरेको आइसोलेसन कक्षमा ४० जनाको उपचार भइरहेको गाउँपालिकाले जनाएको छ भने बाँकी रहेका २९ जनाको मलंगवामा रहेको सन्त अल्पमाई रामनारायण यादब नर्सिङ्ग कलेजमा स्थापना गरिएको अस्थाई कोरोना विशेष अस्पतालमा उपचार भइरहेको विष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल यादवले जानकारी दिनु भयो ।

विष्णु गाउँपालिकामा हाल सम्म देखा परेका कोरोना संक्रमित सबै छिमेकी देश भारतमा रोजगारीको सिलसिलामा गएका र कोरोनाका कारण रोजगारी गुमेपछि गाउँ फर्किएकाहरु रहेका गाउँपालिकाकाले जनाएको छ ।

जिल्लामा २० स्थानीय निकाय रहेका भएपनि हाल सम्म लालबन्दी नगरपालिका बाहेक १९ स्थानीय निकायका गरी कोरोना संक्रमित हुनेको संख्या ५ सय ३० पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय मलंगवाले जनाएको छ ।

देशकै सबैभन्दा धेरै स्थानीय निकाय रहेको जिल्लामा ११ नगरपालिका र ९ गाउँपालिका रहेका छन जस मध्य हाल सम्म पनि लालबन्दी नगरपालिका सुरक्षित रहेको लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले बताउनु भयो । नगरपालिकाले तयार गरेको क्वारे्न्टाईनमा हाल ४४ जना बसी रहेका छन ।

प्रतिक्रिया दिनुहोस्