स्टेडियममा सेक्स डल राख्ने क्लब दण्डित



सोल, (एजेन्सी)

दक्षिण कोरियाको एफसी सोल फुटबल टिमले दक्षिण कोरियाकै प्रमुख फुटबल च्याम्पियनसिपमा ग्वान्गजुविरुद्धको म्याचमा स्टेडियम भर्न सेक्स डलहरु प्रयोग गरेको आरोपको सामना गर्नुपरेको छ ।

यस क्लबले यस घटनाप्रति क्षमायाचना गरेको छ भने के लिगले यसलाई ८१ हजार ३ सय अमेरिकी डलर जरिवाना गरेको छ । एफसी सोलले आफँमाथिको कारबाही बिनाशर्त सहर्ष स्विकारेको सीएनएनलाई बताएको छ ।

तर के लिगले यस सम्बन्धमा केही बोल्न सीएनएनले गरेको अनुरोधप्रति कुनै प्रतिक्रिया जनाएको छैन । यस घटनापछि के लिगलाई अन्तर्राष्ट्रिय दर्शकसम्म पुग्ने मौकामा कुठराघात गरेको क्लब अनलाइनसमक्ष प्रशंसकहरुले आलोचना गरेका छन् ।

विश्वका फुटबल लिगहरु कोरोना भाइरस महामारीको कारण करिब बन्दै रहेको अवस्थामा के लिगले खाली रंगशालामा लिग चलाउँदै आएको हो । एफसी सोलले लुगाको मोडलिङ गर्ने म्यानेक्विनलाई वास्तविक मानिसलाई जस्तै लुगा लगाइदिएको थियो ।

तर तिनीहरुलाई सेक्स डल निर्माण गर्ने कम्पनीको साइन बोर्ड समाउन दिइएको थियो । यस घटनालाई आयोजकको लापरबाहीका रुपमा पनि हेरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्