उत्तर कोरियाद्वारा दक्षिणलाई सैन्य कारवाही गर्ने धम्की



सोल (एजेन्सी) ।
उत्तर कोरियाका नेता किम जोंग उनकी बहिनी किम यो जोंगले दक्षिण कोरिया विरुद्ध सैन्य कारवाही गर्ने धम्की दिएकी छन् । विग्रंदै गएको सम्बन्ध र सीमामा उत्तर कोरिया विरोधी पर्चा सहितको बेलुन उडाउने कार्य रोक्न असमर्थ भएकोमा दक्षिण कोरियाको निन्दा गर्दै किम योले उक्त चेतावनी दिएको हो ।

किम योको उक्त धम्कीपछि दक्षिण कोरियामा हलचल मच्चिएको छ । सोलमा सुरक्षा अधिकारीहरुको आपतकालिन बैठक बोलाइएको छ । किम यो जोंगले दक्षिण कोरियालाई शत्रुको संज्ञा दिँदै आफनो पुरोनो धम्की दोहोर्याएका थिए ।

सीमामा बनेको बेकार सम्पर्क कार्यालय बन्द भएकोमा दक्षिण कोरिया त्यसको साक्षी बन्नु पर्ने उनले बताइन् । नेताकी शक्तिशाली बहिनीले दक्षिण कोरिया विरुद्ध कस्तो जवाफी कारवाही गर्ने हो त्यसको जिम्मेवारी उत्तर कोरियाका सैन्य नेताहरुमाथि छाडेकी छन् ।

किम यो जोंगले भनिन्- ‘सर्वोच्च नेता, हाम्रो पार्टी र देशका तर्फबाट दिइएको शक्तिको प्रयोग गर्दै म हतियार विभाuका प्रभारीलाई भावी कारवाहीका रुपमा शत्रु विरुद्ध जोडदार कारवाही गर्न निर्देशन दिन्छु ।’

किम योको यो धम्कीले उत्तर कोरियाली नेतृत्वमा उनको प्रभाव प्रदर्शित गर्छ । उत्तर कोरियामा सबैभन्दा शक्तिशाली र आफना दाजु किम जोंग उनकी सबैभन्दा बफादार मानिएकी किम यो जोंग दक्षिण कोरियासँगको सम्बन्ध मामिलाकी प्रमुख हुन् ।

उत्तर कोरिया र दक्षिण कोरियाबीच बनेको सम्पर्क कार्यालय कोरोना भाइरसका कारण जनवरी देखि बन्द छ । यसलाई सन् २०१८ मा किम जोंग उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जेइबीच तीन शिखर वार्तापछि बनाइएको हो ।

यसअघि किम यो जोंगले दक्षिण कोरियाबाट उत्तर कोरियामा सन्देश सहितको बेलुन उडाउने उत्तर कोरियाली विद्राहीहरुलाई मानव मल र आफनै देशलाई धोका दिन पागल कुक्कुरको संज्ञा दिएकी थिइन् । किम योले यदि दक्षिण कोरियाले ती गतिविधिलाई नरोक्ने हो भने दुई देशबीच भएको सैन्य सम्झौत रद्द गरिदिने धम्की पनि दिएकी थिइन् ।

यसबीच किम यो जोंगको मागलाई ध्यानमा राखी दक्षिण कोरियाले बेलुनका माध्यमबाट हुने विरोध प्रदर्शन रोक्न नयाँ कानुन बनाउने घोषणा गरेको छ । स्थितिको समीक्षाका लागि दक्षिण कोरियाका शिर्ष सुरक्षा अधिकारीहरुको एक आपतकालिन बैठक पनि आइतबार वोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्