तस्वीर खिच्न डमरुको खुट्टा भाँचिदिएपछि



मस्को (एजेन्सी) ।

रुसमा समुद्रको तटमा छुट्टी मनाउन आउने पर्यटकसँग तस्विर खिच्दा पोज दिने क्रममा भाग्न नसकुन भनेर सिंहको एक निर्वोध बच्चाको खुट्टा नै भाँचिदिएको घटनाले सबैलाई स्तब्ध तुल्याएको छ । यस अमानविय घटनाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि हैरान भएका छन् । उनले यस घटनाको जाँचको आदेश दिएको छ । यो डमरु केही हप्ताको मात्र हुँदा उसकी आमाबाट खोसेर पर्यटकसँग तस्विर खिंचाउन बाध्य बनाइएको हो । जब यो ठूलो हुँदै गयो, भाग्न नसकुन भनेर उसको खुट्टा नै भाँचिदिए ।

सिंबा नामका उक्त डमरुको स्वास्थ्य स्थिति यस बर्बरतापछि अत्यन्तै खस्केको र उसको ढाढको हड्डीमा पनि गम्भिर चोट लागेको डेली मेल अखबारले जनाएको छ । डमरुलाई उद्धार गरकी युलिया अगिवाका अनुसार उसलाई केही खान पनि दिएको थिएन । युलिया र उनका साथीले सिम्बालाई जनावरका विशेषज्ञ डाक्टर केरने डेलाक्यानकोमा लिएर गए । धेरैजसो फोटोग्राफरले जंगली जनावर भाग्न नसकुन भनेर उनीहरुको खुट्टा भाँचिदिने गर्ने गरेको उनले बताए ।

डेलाक्यानले सिम्बाको उपचार गरिदिएको छ तर अहिले पनि उसलाई समस्या छ । डेलाक्यानले यस विषयमा राष्ट्रपति पुटिनलाई इकोलोजिस्टहरुसँग भएको एक भिडियो कन्फ्रेन्समा जानकारी दिएका थिए । त्यसपछि पुटिनले सिम्बामाथि यो क्रुरता गर्ने र उसका साथीहरु विरुद्ध कारवाही गरिने प्रतिबद्धता ब्यक्त गरेका थिए । त्यसपछि यस घटनालाई लिएर जाँच सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्