लिम्बुको पाःलाममा गैर लिम्बुको उत्साह



विश्वव्यापी कोरोना महामारीको कारण उत्पन्न लकडाउनको समयलाई सकारात्मकरूपमा सदुपयोग गर्दै याकथुङ कल्चर ग्रुपले आयोजना गरेको पहिलो विश्वव्यापी अनलाइन पाःलाम गायन प्रतियोगितामा गैरलिम्बुसहित उत्साहजनक सहभागिता भएको छ।

आयोजकको दाबीअनुसार १ सय ६० वटा पाःलाम दर्ता भइसकेका छन् भने ५६ पाःलाम सार्वजानिक भइसकेका छन्। पालामहरू याक्थुङ कल्चरल ग्रुपको पेज र नयाँ अनलाइन टिभीको च्यानलमार्फत सार्वजानिक भएको हो। सार्वजनिक भएका पाःलाममा दर्शकहरूले लाइक, सेयर तथा कमेन्ट गर्नेको लर्को पनि बढिरहेको छ।

गैरलिम्बुभाषीहरूमा राई, विश्वकर्मा र अधिकारी जातिबाट छन्। अझै पनि सहभागीहरूको संख्या बढिरहेकाले प्रत्येक दिन संख्या बढाउँदै अपलोड गरिएको आयोजकले जनाएको छ। नेपालबाहेक वैदेशिक रोजगारीमा गएका मुलुकहरू र सिक्किम, असम, यूके, अमेरिकाबाट पनि सहभागिता जनाइरहेका छन्।

पालाम प्रतियोगितामा विजेतालाई नगद ३० हजार रुपियाँसहित एउटा पाःलाम निशुःल्क रेकर्ड, प्रमाण–पत्र र अन्य आकर्षक पुरस्कार प्रदान गर्ने आयोजकले जनाएका छन्। त्यसैगरी द्वितीयलाई नगद २५ हजार, तृतीयलाई २० हजारका साथमा विभिन्न शीर्षकमा सान्त्वना पुरस्कार पनि प्रदान गर्ने आयोजकले जनाएका छन्।

प्रतियोगितामा सहभागी पाःलामले सामाजिक सन्जालबाट प्राप्त प्रतिक्रियाबाट ४० प्रतिशत र निर्णायक मण्डलबाट ६० प्रतिशत अंक प्राप्त गर्नेछन्। निर्णायकहरूमा मुन्धुमविद् यासेली योङहाङ, गायिका मनु नेम्बाङ र रैथान संगीतका अभियन्ता झुमा लिम्बु छन्।

पाःलाम जेष्ठ ३० गतेसम्ममा जम्मा गर्ने र विजेताको घोषणा साउन १ गते सिसेक्पा तङ्नामको अवसरमा सार्वजानिक गर्ने आयोजकले जनाएका छन्। धाननाच र पालाम लिम्बु समुदायको लोकप्रिय मौलिक कला संस्कृति हो।

विभिन्न चाडपर्व, मेला महोत्सव, विवाह, सुद्धाईजस्ता कर्मकार्यमा धान नाच्ने गरिन्छ। केही वर्ष अघिसम्म बिरलै रूपमा देखिने धाननाच अहिले पूर्वका हरेक मेला, महोत्सव र विवाहजस्ता कार्यमा देख्न पाइन्छ।

प्रतिक्रिया दिनुहोस्