फ्रेन्च लिग वान सुचारु नगरिए लियोनले मुद्दा हाल्ने



  • पेरिस, एजेन्सी 

फ्रेन्च लिग वान क्लब लियोनले कोरोना महामारीका कारण रद्द गरिएको लिग सुचारु नगरिए फुटबल संघविरुद्ध मुद्दा हाल्ने बताएको छ ।क्लबका अध्यक्ष जिन मिकेल एयुलासले रद्द गरिएको लिग पुनः सुचारु गरेर पूरा नगरे फुटबल संघविरुद्ध मुद्दा हाल्ने चेतावनी दिएका हुन् । कोरोना भाइरसका कारण रद्द भएको फ्रान्सको शीर्ष फुटबल लिग वान पुनः सुचारु गर्न दवाब बढेको छ ।

अहिले लिग वानकै केही क्लब फ्रेन्च फुटबल संघ समक्ष रद्द भएको लिग पुनः सुचारु गर्न माग गरिरहेका छन् । संघले हतारमा फुटबल लिग रद्द गरेको भन्दै निर्णय उल्टाएर लिगका बाँकी खेल पुनः खेलाउनुपर्ने माग गरिरहेका छन् ।

यता, युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले पनि कोरोना कारण सिजन अन्त्य गरेको फ्रेन्च लिग वान पुनः सुचारु गर्न सक्ने भन्दै ढोका खुला गरेकाले यो सम्भावना पनि अझै पनि छ । युइएफएले यदि लिग वानले यसअघिको निर्णय रद्द गरेर सकाएको सिजन पुनः सुचारु गर्न चाहन्छ भने त्यसको बाटो खुला रहेको बताएको छ ।

कोरोनापछि युरोपका टप–५ लिगमध्ये हाल जर्मनीको बुन्डेसलिगा सुचारु भएर बाँकी खेल चलिरहेका छन् भने प्रिमियर लिग, ला लिगा र सिरी ए सुचारु हुने पक्का भइसकेको छ । जसमा ला लिगा जुन ११, सिरी ए जुन १७ र प्रिमियर लिग जुन २० बाट सुचारु हुँदैछ ।

यसरी युरोपका अन्य लिग सुचारु भए पनि पूरा हुने अवस्थामा फ्रेन्च लिग भने चाँडै अन्त्य भएको घोषणा गर्दा लिग वान क्लबहरू खुसी छैनन् । अन्य चार लिग स्थगित भएर पनि सकिने अवस्थामा युइएफएले फ्रेन्च लिग वानलाई पुनः सुचारु गर्न अनुमति दिन तयार छ ।

यसअघि फ्रान्सका प्रधानमन्त्री इडुवार्ड फिलिपेले गत अप्रिलमै सार्वजनिक रूपमा घोषणा गर्दै आगामी सेप्टेम्बरसम्म देशमा कुनै पनि खेल गतिविधि नगर्न निर्देशन दिएका थिए । त्यसपछि तत्काल अंक तालिकाको शीर्ष स्थानमा रहेको पिएसजीलाई फुटबल संघले उपाधि च्याम्पियन घोषणा गरेको थियो । त्यसबेला पिएसजी लिगमा दोस्रो स्थानको मार्सेइलोभन्दा १२ अंकले अघि थियो ।

यदि फ्रेन्च लिग पुनः सुचारु नभए लियोनले सन् १९९६ पछि पहिलोपटक च्याम्पियन्स लिग र युरोपा लिग प्रतियोगिता गुमाउनेछ । लिग रद्द हुनुअघि लियोन ४० अंकसहित सातौं स्थानमा थियो । यसअघिको अवस्थामा पिएसजीसँगै मार्सेइलोले भने च्याम्पियन्स लिग खेल्न पाउनेछन् । यदि रद्द भएको लिग पुनः सुचारु भए लियोन टप–४ मा रहेर च्याम्पियन्स लिगमा छनौट हुने दाउमा छ ।

प्रतिक्रिया दिनुहोस्