बोर्डमा चुनौती र अवसर सँगसँगै: दयाराम दाहाल



चलचित्र विकास बोर्डका सदस्य तथा फिल्म लेखक, गीतकार र निर्देशक दयाराम दाहालले सोमबार बोर्डको १५औं अध्यक्षका रूपमा पदभार ग्रहण गरेका छन्।

२०७६ मंसिर २९ तत्कालीन बोर्ड अध्यक्ष केशव भट्टराईको असामयिक निधन भएपछि रिक्त हुन पुगेको बोर्ड अध्यक्षका लागि १० जनाले आवेदन दिएका थिए। तीमध्ये दयारामका साथमा भुवन केसी र राजेश थापाको नाम सिफारिस गरिएको थियो भने गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दयारामलाई बोर्ड अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो।

पदभार ग्रहण गर्दै नवनियुक्त अध्यक्ष दाहालले फिल्म क्षेत्रमा देखिएको बेथितिलाई प्रथामिकता दिने बताए। सबैभन्दा पहिले कोरोना भाइरस संक्रमणको जोखिमका कारण लगाइएको लकडाउनले ठप्प बनाएको फिल्म क्षेत्रलाई प्रभावकारी ढंगले क्रियाशील बनाउनेतिर आफँ केन्द्रित हुने उनले बताए।

आप्नासामु बोर्ड अध्यक्षका रूपमा केही चुनौती रहेको र सँगसँगै धेरै सम्भावनाहरू पनि रहेको उनले चर्चा गरे। ‘यो समयमा नेपाली फिल्मको निर्माण, वितरण र प्रदर्शनलाई समेत सन्लुतनमा राख्न सक्नुपर्ने दायित्व ममाथि छ, त्यसैले कोरोना भाइरसले समस्या ग्रस्त भएको फिल्म क्षेत्रलाई क्रियाशील बनाएपछि अन्य काममा म विस्तारै अघि बढ्नेछु’, दाहालले भने– ‘अध्यक्षका लागि दरखास्त दिँदा मैले केही कार्य योजनाहरू पेस गरेको छु।

त्यो कार्ययोजनालाई म फिल्मसँग आबद्ध संघ संस्थाहरूको सल्लाह सुझाव तथा सहकार्यमा कार्यन्वयन गर्दै जानेछु।’

दाहालले बक्स अफिसलाई सही ढंगले कार्यन्वयन गर्नु, इन्डोर फिल्म स्टुडियोको निर्माण, श्रमजीवी फिल्मकर्मीका लागि सामाजिक सुरक्षा योजनालगायतका कार्यक्रमहरू पनि क्रमशः कार्यन्वयन गर्दै जाने पदभाभार ग्रहण कार्यक्रममा बताए।

उनले पदभार ग्रहण गरिसकेपछि बोर्डबाट सञ्चार तथा सँचना प्रविधि मन्त्रालयमा पेस गर्न लागिएको फिल्म नीति तथा कार्यक्रममा हस्ताक्षर गरे। त्यस अवसरका बोर्डका सदस्यसचिव महेन्द्र शाखीले दाहाललाई बोर्डको ब्रिफिङपत्र हस्तान्तरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्