हत्या प्रकरणले ह्वाइट हाउस र पेन्टागनबीच तनाब



वासिङ्टन, (एजेन्सी)

अमेरिकामा अश्वेत जर्ज फ्लोयडको मृत्युपछि शुरु भएको प्रदर्शन रोकिने कुनै संकेत देखिएको छैन । राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीमाथि सैन्य कारबाही गर्ने धम्की दिएका थिए । यसलाई लिएर ह्वाइट हाउस र रक्षा विभाग पेन्टागनबीच मनमुटाव बढेको छ ।

ट्रम्पको उक्त बयानविरुद्ध पेन्टागनका सल्लाहकार जेम्स जुनियर मिलरले राजीनामा दिएका छन् । रक्षा मन्त्री मार्क एस्पर पनि ट्रम्पको विरोधमा उभिएको देखिएका छन् ।

हालै मात्र ह्वाइट हाउसबाहिर शान्तिपूर्ण प्रदर्शन गरिरहेकामाथि रबरको गोली तथा अश्रुग्यास प्रहार गरिएको थियो । कारबाहीको उद्देश्य ह्वाइट हाउसअगाडि प्रदर्शनकारी हटाउनु थियो । त्यसको केही समयपछि ट्रम्प चर्चमा गएर फोटो खिचाएका थिए । यस घटनालाई लिएर दुःखी भएका मिलरले राजीनामा दिँदै एक पत्रमा ट्रम्प र एस्परको विरोध गरेका थिए । त्यसपछि पेन्टागन र ह्वाइट हाउसबीच मनमुटाव झन् गहिरिएको हो ।

यस घटनापछि अमेरिकी रक्षा मन्त्री मार्क एस्पर पनि ट्रम्पको विरोधमा आएका थिए । उनले पेन्टागनमा पत्रकारसँगको वार्तामा प्रदर्शनकारीविरुद्ध विद्रोह कानुन लागू गर्न असहमति जनाए । यो कानुन लागू भएपछि ट्रम्प प्रदर्शनकारीलाई दमन गर्न सेनाको प्रयोग गर्न सक्नेछ ।

आफ्नै नागरिकविरुद्ध सेनाको प्रयोग गर्ने ट्रम्पको धम्कीले बहस छेडेको छ । नागरिकमा राष्ट्रपतिको यो दृष्टिकोणलाई लिएर असन्तोष फैलिएको छ । सेनालाई बलियो बनाउनमा देशवासीहरूको ठूलो योगदान रहेको आलोचकहरूले बताएका छन् । जनताको सेनाप्रति आस्था छ । त्यसैले यसको राजनीतिक प्रयोग चिन्ताको कुरा हो ।

यसैबीच सैनिक अधिकृतहरूले सैनिकलाई अत्यन्तै खराब स्थितिमा कानुन लागू गराउनमा मात्र प्रयोगमा ल्याउनुपर्ने बताएका छन् । हालै अवकास पाएका चार तारे जनरल विन्सेन्ट ब्रुक्सले ट्रम्पको धम्कीले नागरिकमा सेनामाथिको विश्वास समाप्त हुने बताए ।

प्रतिक्रिया दिनुहोस्