ट्रम्पको पोस्टलाई नियन्त्रण गर्न फेसबुकलाई वैज्ञानिकहरूको अपिल



सान फ्रान्सिस्को, (एजेन्सी)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र सामाजिक सन्जाल प्लेटफर्मबीच तनाब बढिरहेकै बेला अमेरिकाका १ सय ४० भन्दा धेरै वैज्ञानिकले फेसबुकका सीइओ मार्क जुकरबर्गलाई फेसबुकमा ट्रम्पमाथि नियन्त्रण गर्न भनेका छन् ।

फेसबुकमा गलत सूचना तथा ट्रम्पको हिंसालाई प्रोत्साहन गर्ने पोस्ट रोक्न उनीहरूले अपिल गरेका हुन् । ती वैज्ञानिकहरू मार्क जुकरबर्गको कम्पनी चान जुकरबर्ग इनिसिएटिवले कोष उपलब्ध गराउँदै आएका संस्थामा आबद्ध हुन् ।

अमेरिकी न्युज वेबसाइट द वर्जका अनुसार वैज्ञानिकहरूले जुकरबर्गलाई पत्रमार्फत उक्त अपिल गरेका हुन् । वैज्ञानिकहरूको समूहमा हार्भर्ड र स्टेनफोर्ड युनिभर्सिटीका प्रोफेसर तथा नोबेल पुरस्कार विजेता पनि छन् ।

वैज्ञानिकहरूले पत्रमा लेखेका छन्, राष्ट्रपति ट्रम्पको पोस्टमा आफ्ना नीतिको पालना नगरेको देखेर हामी निरास भएका छौं । ट्रम्पले हिंसा बढाउन गरेको पोस्ट ‘जब लुट शुरु हुन्छ, सुटिङ शुरु हुनेछ’मा तपाईंका तर्फबाट केही गरिएको छैन ।

अमेरिकामा अश्वेत जर्ज फ्लोयडको प्रहरी हिरासतमा हत्या भएपछि हिंसा तथा लुटपाट बढेको छ । यसैबीच ट्रम्पले धम्की दिँदै लुटपाट गर्नेहरूलाई गोली हान्ने चेतावनीसहित उक्त टिप्पणी पोस्ट गरेका थिए । ट्विटरले ट्रम्पको पोस्टलाई हाइड गर्दै त्यसको विषयमा एक टिप्पणी झुन्ड्याइदिएको थियो । ट्विटरले भनेको थियो, हामी हिंसालाई प्रोत्साहन गर्दैनौं ।

फेसबुकका कयौं वर्तमान तथा पूर्वकर्मचारी कम्पनीसँग असन्तुष्ट छन् । उनीहरू ट्रम्पको पोस्टमा फेसबुका तर्फबाट कुनै कारबाही नगरेकोमा आलोचना गरेका छन् । यसैबीच जुकरबर्गले फेसबुक अमेरिका र विश्वभरि जातीय हिंसामा नियन्त्रण गर्न मद्दत गर्ने बयान दिएका छन् । यसमा काम शुरु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्