सुमन कुमारलाई दिल खोल्न गाह्रो



सुगम संगीतका चर्चित गायक सुमन कुमारको नयाँ सुगम गीत सार्वजनिक भएको छ।
विन्ध्यवासिनी म्युजिक प्रालिले गायक सुमन कुमारको सबैसँग यो दिल खोल्न पनि गाह्रो पीडा लुकाई नबोल्न झन् साह्रो बोलको नयाँ गीत सार्वजनिक गरेको हो।

गीतमा विपीन किरणको शब्द रचना र महेश खड्काको संगीत रहेको छ। सुमन कुमारको यो गीत प्रत्युष नामक एल्बममा संगृहित छ। विन्ध्यवासिनी म्युजिकको युट्युब च्यानलमार्पmत सार्वजनिक गीतका लागि भिडियो प्रस्तुति विनोद भामले तयार पारेका छन्। सुमन कुमारले कोरोना भाइरसका कारण हुने कोभिड–१९ को जोखिमलाई मध्यनजर राख्दै सरकारले लगाएको लकडाउनको समयलाई मनोरञ्जक बनाउन नयाँ गीत सार्वजनिक गरिएको बताए।

यो मन कोमल, ए आवाज, खाएको कसमको लाज राख्नु हैजस्ता सुगम संगीतका गीतबाट चम्किएका सुमन कुमारले मुटु चोरी लाने माया, जिस्क्याउँथें म, उनी दंग पर्थिन्जस्ता गीतबाट थप लोकप्रियता कमाएका छन् भने राष्ट्रिय भावनाले ओतप्रोत तथा जातीय सद्भाव र क्षेत्रीय सद्भाव कायम गर्दै आम नेपालीले एक ढिक्का भएर बाँच्नुपर्ने सन्देश बोकेको गीत पहाडतिर लेकहरूमा लालीगुराँस फुलाऊँ नेपाली गाएर आफूलाई थप उचाइमा पु¥याएका थिए।

दुई दशक लामो सांगीतिक यात्राका दौरानमा सुगम संगीतको क्षेत्रमा श्रेष्ठ सावित गायक सुमन कुमारले २०५३ सालमा मास्टरजीको सपना नामक टेलिसिरियलको शीर्ष गीत गाएर सांगीतिक करियर शुरू गरेका थिए। त्यसको ६ वर्षपछि २०५९ सालमा आएर एकल एल्बम आगमन बजारमा ल्याएका थिए।

त्यही बेला सुमनले नयाँ बानेश्वरस्थित हालको सांसद भवन तथा तत्कालीन वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुमन सांस्कृतिक साँझ नामक भव्य एकल सांगीतिक कार्यक्रममा आफ्ना प्रस्तुति दिएर सबैलाई चकित बनाएका थिए। ९ वर्ष लामो अन्तरालपछि २०६८ सालमा आएर बिहानी नामक एल्बम ल्याएपछि यी गायक सांगीतिक बजारमा छाउन पुगेका थिए। उनले आप्mना सात गीति अडियो एल्बम बजारमा ल्याइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्