रिस्ताको हिन्दी भिडियो



नायिका रिस्ता बस्नेत हिन्दी गीतको म्युजिक भिडियोमा देखिएकी छिन्। रिस्ता पछिल्लो समय टिकटक हुँदै म्युजिक भिडियोमा लोकप्रिय बनिरहेका मोडल मञ्जुल खट्टरसँग हिन्दी गीतको म्युजिक भिडियोमा देखिएकी हुन्।

गत फागुनमा पोखराका विभिन्न मनोरम दृश्यमा छायांकन गरिएको भिडियोलाई जी म्युजिकको युट्युब च्यानलमार्फत केहीअघि सार्वजनिक गरिएको हो। नेपाली प्राविधिक प्रयोग गरेर तयार गरिएको साथिया तेरेबिना गीतको भिडियोमा नेपालको सुन्दरता देख्न सकिन्छ।

गीतमा कार्तिक र ज्योतिकाको स्वर रहेको छ भने शब्द सञ्जीव पाण्डेको र संगीत पुनित पाण्डेको रहेको छ। हिन्दी भाषाको गीतलाई टिकम शर्माले निर्माण गरेका हुन् भने यसको म्युजिक भिडियो सम्राट शाक्यले निर्देशन गरेका छन्।

तात्कालीन समयमा नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल–२०२० लाई टेवा पुग्ने उद्देश्यले भिडियो तयार गरिएको सम्राटले बताए। ‘हामीले नेपालकै सुन्दर नगरी पोखराको मनोरम दृश्यलाई समेटेका छौं। हामीले यो भिडियोमार्फत भिजिट नेपाललाई टेवा पुगोस् भन्ने चाहेका थियौं।

तर, कोरोना भाइरस संक्रमणको जोखिमका कारण त्यो रद्ध भयो। भिडियोले नेपालको सुन्दरता धेरै दर्शकसमक्ष पु¥याउँछ।’ –सम्राटले भने। फिल्म यात्रामार्फत निर्देशनमा आएका सम्राटको यो पहिलो भिडियो निर्देशन हो। भिडियोमा पुरुषोत्तम प्रधानको छायांकन, कमल राईको नृत्य निर्देशन, अर्जुन जिसीको सम्पादन र यादव पौडेलको प्रोडक्सन रहेको छ।

छायांकन सकिएपछि नेपाल निकै सुन्दर रहेको प्रतिक्रिया मोडल मञ्जुलले दिएका थिए। नेपालको सुन्दरताका बारेमा सुनेका मञ्जुल यही गीतको छायांकनका लागि पहिलोपटक नेपाल आएका थिए भने उनले नेपालको सुन्दरताले लोभ्याएको प्रतिक्रिया दिएका थिए।

उनले सुन्दर भिडियो निर्माणका लागि नेपाली प्राविधिकलाई धन्यवादसमेत दिएका छन्। टिकटकबाट चिनिएका मञ्जुल पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त छन्।

 

प्रतिक्रिया दिनुहोस्