कतारमा नेपाली कामदारलाई ‘इन्ड अफ सर्भिस’



न्युज अफ नेपाल,हेटौंडा ।

विश्वलाई प्रभाव पारेको कोरोना भाइरस (कोभिड–१९) ले कतारमा कार्यरत् आप्रवासी कामदारलाई पनि प्रत्यक्ष असर पारेको छ । कतारमा रहेका नेपाली कामदारहरुले कोरोनाका कारण जागिरबाट बिमुख हुनुपर्ने अबस्था आएको हो । त्यहाँ बिभिन्न कम्पनीमा कार्यरत् नेपाली कामदारलाई कम्पनीले बोलाएर ‘इन्ड अफ सर्भिस’ भन्दै पत्रमा हस्ताक्षर गर्न लगाएको त्यहाँबाट पत्रकार अनिल पराजुलीले बताएका छन् । कामदार आफू कार्यरत् कम्पनी छोड्दा अथवा कम्पनीले निकाल्दा पाउने हिसाबलाई ‘इन्ड अफ सर्भिस’ भनिन्छ ।

कतारका प्रतिष्ठित कम्पनीमा कार्यरत् कामदारलाई कम्पनीले बोलाएर हालको अबस्थामा कर्मचारी कटौती गर्नुपर्ने अबस्था आएकोले कर्मचारी कटौती गर्न लागेको जानकारी दिएको हो । उनीहरुलाई मे महिनाको अग्रिम तलब कम्पनीले उपलब्ध गराएको छ भने नेपालको उडान नखुलेसम्म खाने र बस्ने सुबिधा उपलब्ध गराउने बताएको छ । हाल ती कामदारहरु कोठामै बसेर दिन बिताइरहेका छन् ।

कतारमा कतिपय कम्पनीले काम नभएको भन्दै कर्मचारीहरुलाई फोर्स रिजाइन पनि दिन लगाएको छ । फोर्स रिजाइन गरेकाहरु पनि आफ्नो देशको उडान रद्ध हुँदा कोठामै बस्न बाध्य भएका छन् । रिजाइन दिएर सम्पूर्ण प्रक्रिया पुरा गरेका तथा प्रक्रिया बाँकी रहेकाहरु पनि नेपाल सरकारले खाडीसहित ५५ मुलुकको अन्तर्राष्ट्रिय उडान रद्ध गर्दा समस्यामा परेका छन् । ‘केहीसँग न जागिर छ, न त घर जान सम्भव छ । उनीहरु समस्यामा छन्,’ कतारबाट पत्रकार पराजुलीले भनेका छन् ।

नेपाली दूतावास दोहा कतारले नेपालमा प्रवेश गर्ने सबै अन्तर्राष्ट्रिय उडानहरु तथा नेपालभित्रका आन्तरिक उडानहरुमा लगाइएको अस्थायी प्रतिवन्ध आगामी १५ मे २०२० (शुक्रबार, २०७७ जेठ २ गते) सम्म रहेको जानकारी दिएको छ । नागरिक उड्डयन प्राधिकरणले २८ अप्रिल २०२० मा सूचना जारी गर्दै यस्तो जनाएको थियो । नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि २० मार्च अर्थात् चैत ७ गते शुक्रबारबाट युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानसहित ५५ देशबाट नेपाल आउन रोक लगाएको थियो । हाल कतारमा करिब तीन लाख ५१ हजार नेपाली कार्यरत् रहेको बताइएको छ ।

कतारमा एकैदिनमा ९ सय ५१ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित फेला परेका छन् । कतारको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २ हजार ९ सय ६७ जनाको जाँच गर्दा ९ सय ५१ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै कतारमा संक्रमितको संख्या १७ हजार १ सय ४२ पुगेको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण कतारमा संक्रमितको संख्या प्रत्येक दिन थपिँदै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म एक हजार ९ सय २४ जना निको भएर घर फर्किएको पत्रकार पराजुलीले बताएका छन् ।

कतारले करिब ५० हजार नेपालीसहित आप्रवासी कामदार बस्ने औद्योगिक क्षेत्र सनैयाको लकडाउन केही प्रावधानसहित खोलेको छ । सरकारी सञ्चार कार्यालय (जीसीओ) ले सुचना जारी गर्दै बुधबारदेखि सनैयाको सडक नम्बर १ देखि ३२ सम्मको क्षेत्रमा जान र आउन केही प्रावधानसहित खोल्ने अनुमति दिएको हो ।

निर्णयअनुसार उक्त क्षेत्रभित्र काम गर्ने तथा बाहिर बस्ने र त्यस क्षेत्रभित्र बस्ने तथा बाहिर काम गर्ने कामदारलाई मात्र आवतजावत गर्न दिइनेछ ।
रोजगारदाताले सबै कामदारलाई एतेराज मोबाइल एप डाउनलोड गर्न अनिवार्य गरेको छ । औद्योगिक क्षेत्रमा बाहिर निस्कन र प्रवेशका लागि उक्त एप अनिवार्यरुपमा प्रयोग गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्