अबको बैंकिङः डिजिटल बैंकिङमार्फत नगदरहित कारोबार



कृष्णप्रसाद आचार्य

वि.सं. १९९४ कार्तिक ३० मा नेपाल बैंक लि.को स्थापनासँगै नेपालमा औपचारिक बैंकिङ सेवाको शुरुवात भएको हो । २०२२/१०/१० मा राष्ट्रिय वाणिज्य बैंक र २०२४/१०/०७ मा कृषि विकास बैंकको स्थापना सँगै बैंकिङ सेवा प्रदान गर्ने तीनवटा सरकारी कैंक बने । २०४१/३/२९ मा नबिल बैंक (तत्कालीन नेपाल अरब बैंक लि.) को स्थापना नहुन्जेलसम्म नेपालमा बैंकिङ सेवा प्रवाह गर्ने सरकारी बैंकमात्र रहेका थिए । ४० को दशकपछि नेपालमा थुप्रै प्राइभेट बैंकहरु खुलेर सञ्चालनमा छन् ।

नयाँ–नयाँ बैंकहरु खुलेसँगै हुनेखाने र पहुँचवाला वर्गले मात्र उपभोग गरिरहेको बैंकिङ सेवा सर्वसाधारणले पनि सर्वसुलभरुपमा प्राप्त गर्न थाले । नयाँ बैंकहरु खुलेसँगै नयाँ प्रविधिको प्रयोग गरी बजार र व्यापार विस्तार गर्न थालियो । बजार विस्तार गर्न नयाँ प्रविधिको प्रयोगसँगै नयाँ ढंगले सेवाहरु प्रदान गर्न थालियो । यसले परम्परागत बैंकिङ प्रणालीलाई प्रविधिमा आधारित आधुनिक बैंकिङ प्रणालीमा रुपान्तरण ग¥यो । ग्राहकहरुले सामान्य सेवा लिन पनि घन्टौं बिताउनुपर्दथ्यो तर आधुनिक बैंकिङ प्रणालीमा सेवा लिन सहज र छिटो बनाइदियो ।

सन् २०१९ को डिसेम्बर अन्त्यतिर चीनको वुहान क्षेत्रबाट शुरु भएको कोभिड–१९ (कोरोना भाइरस) महामारीलेविश्व आक्रान्त छ । यस महामारीले हालसम्म विश्वभरिमा ३६ लाखभन्दा बढी संक्रमित भएका छन् भने साढे २ लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् । संक्रमणबाट बच्ने उपायस्वरुप विश्व अहिले बन्दाबन्दी (लकडाउन) मा छ । नेपाल पनि चैत्र ११, २०७६ देखि लकडाउनमा छ ।

यस महामारीले विश्व अर्थतन्त्रमा ठूलो क्षति हुने तथा आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण विश्व बैंकले गरिसकेको छ । नेपालमा पनि यसको असर देखिइसकेको छ । अर्थतन्त्रको प्रमुख हिस्सा ओगट्ने विपे्रषण र पर्यटन क्षेत्रमा नराम्रो असर परेको छ । बिस्तारै यसको असर बैंकिङ क्षेत्रमा पर्न थालेको छ ।

कालो बादलमा चाँदीको घेरा भएजस्तै यस महामारीका कारण बैंकिङ क्षेत्रले क्षति व्यहोर्नुपरेपनि यसबाट पाठ सिकेर यसलाई बैंकिङ सेवा प्रवाहको स्वरुपमा परिवर्तन गर्ने एउटा अवसरको रुपमा लिन सकिन्छ । यसलाई बैंकिङ सेवाको ‘डिजिटलाइज्ड’ गरी नगदरहित कारोबारमा रुपान्तरण गर्ने अवसरको रुपमा लिन सकिन्छ ।

कोभिड–१९ संक्रमण फैलिने विभिन्न माध्यममध्ये बैंक नोट एक हो । बैंक नोट चाँडो–चाँडो एक व्यक्तिबाट अर्को व्यक्तिमा र एक ठाँउबाट अर्को ठाउँ सर्ने भएकोले यसबाट संक्रमण हुने जोखिम उच्च छ । हालसम्म यस महामारीको कुनै औषधि वा खोप पत्ता लागि नसकेको हुँदा यो कहिले अन्त्य हुन्छ भनेर कसैले भन्न नसकेको हुँदा यो सामाजिक दुरी कायम गर्ने अवधारणा लामो समयसम्म रहने देखिन्छ । बैंकिङ सेवा अत्यावश्यक सेवा भएको हुँदा लकडाउनको समयमा समेत नेपालमा बैंक तथा वित्तीय सस्थाहरुले सीमित सेवा प्रवाह गरिरहेका छन् । त्यसैले अब नेपालमा बैंकिङ सेवालाई पूर्णरुपमा डिजिटल माध्यममार्फत प्रवाह गरी नगदरहित बनाउनुपर्दछ ।

सरकारी कदम
नगद कारोबारलाई निरुत्साहित गर्ने हेतु सरकारले विभिन्न कदम चालेको छ । सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता बैंकमार्फत भुक्तानी गर्न शुरु गरेको छ । फर्म, कम्पनी, संस्था वा कार्यालयको नाममा खिचिएका चेकहरुको भुक्तानीएकाउन्टपेयी हुनुपर्नेछ र व्यक्तिगत भुक्तानीसमेत रु. १०लाख वा सोभन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य एकाउन्टपेयी चेकमार्फत वा सम्बन्धित व्यक्तिको खातामा मात्र भुक्तानी गर्नुपर्दछ । त्यसै गरी जुनसुकै संघसंस्था, उद्योग कलकारखाना, व्यापारिक फर्महरुले आफ्नो संस्थामा कार्यरत कर्मचारीको तलब अनिवार्य बैंक खातामार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ। साथै नगदरहित कारोबारलाई बढावा दिन आईपीएस÷आरटीजीएससेवा लागू गरेको छ ।

डिजिटल बैंकिङकोवर्तमान स्थिति
आजभन्दा १०–१५ वर्षपहिलेसम्म पनि नेपालमा हरेक किसिमका बैंकिङ सेवा तथा सूचना लिन कार्यालयसम्म नै पुग्नुपर्दथ्यो । तर नयाँ–नयाँ प्रविधिको प्रयोगसँगै परम्परागत पद्धतिलाई प्रविधिमा आधारित सेवा दिन शुरु भयो । नेपालमा बैंकहरुले हाल सेवाग्राहीलाई एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, पीओएस मेसिन, आरटीजीएस, आईपीएस, ईसीसीआदिमार्फत डिजिटल सेवा प्रवाह गरिरहेका छन् ।

डिजिटल बैंकिङको प्रयोगमार्फत ग्राहकहरुले घरमै बसेर पनिआफ्नो खाताको मौज्दात तथा कारोबारको विवरण लिने, चेक बुक अनुरोध गर्ने, बिल भुक्तानी, स्कुल–कलेजको फिस भुक्तानी, खानेपानी तथा बिजुलीको बिल भुक्तानी, प्लेनको टिकट काट्ने, बसको टिकट काट्ने, सिनेमाको टिकट काट्ने, निश्चित सीमासम्म अन्य खातामा रकम ट्रान्सफर गर्नेआदि गर्न सक्छ । तर अझैपनि आम ग्राहकवर्ग नगदमै विश्वास गर्ने र डिजिटल कारोबारमा विश्वास गर्दैन ।

नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित विवरणअनुसार पौष मसान्त २०७६ सम्ममा नेपालमा सञ्चालनमा रहेका बैंकहरुको संख्या ७३ (क वर्ग २७, ख वर्ग २४ र ग वर्ग २२) र जम्मा शाखा संख्या ५५३३ (क वर्ग ४०११, ख वर्ग १२९३ र ग वर्ग २२९) रहेका छन् । तिनीहरुमा रहेका निक्षेप खाताहरुको जम्मा संख्या ३११,१२,१९४ छ । तर निक्षेप खाताहरुमध्ये डिजिटल बैंकिङको प्रयोगकर्ताहरुको संख्या न्यून रहेको छ ।

मोबाइल बैंकिङको प्रयोगकर्ता जम्मा ९८,०६,२३७छन्, जुन बैंकमा रहेका सम्पूर्ण निक्षेप खाताको ३३.८८ प्रतिशत हो भने इन्टरनेट बैंकिङको प्रयोगकर्ताहरु जम्मा ९६९,०५५ छन्, जुन बैंकमा रहेका सम्पूर्ण निक्षेप खाताको ३.१२ प्रतिशत हो । त्यस्तै डेबिट कार्ड प्रयोगकर्ताहरु जम्मा ७२,१५,६४६ छन् जुन बैंकमा रहेका सम्पूर्ण निक्षेप खाताको २३.१९ प्रतिशत हो । (स्रोत ः एनआरबी न्युज, वर्ष १४, इस्यु ६, डिसेम्बर–जनवरी २०१९–२०२० ।)

प्रस्तुत तथ्यांकले के देखाउँछ भने, नेपालमा अहिले पनि डिजिटल बैंकिङको प्रयोगकर्ताहरु थोरै छन् । यसको अर्थ बहुसंख्यक खातावालाहरुले अझ पनि सामान्य सेवा जस्तै– मौज्दात र कारोबारको जानकारी लिन, सामान्य खर्च रकम झिक्नसमेत बैंक पुग्नुपर्दछ । यसले बैंकमा अनावश्यक भीड लाग्ने, संक्रमण फैलने र सेवाग्राहीको अधिक समय खर्च हुने गर्दछ ।

अब के गर्ने?
बैंकिङ सेवालाई डिजिटलाइज्ड गरी नगदरहित कारोबारलाई प्रोत्साहन गर्न बैंकहरुले सर्वप्रथम सेवाग्राहीहरुलाई वित्तीय साक्षरता गराउनुपर्दछ, जसमा डिजिटलसेवा कसरी लिने र यसका फाइदाको बारेमा बुझाउनुपर्दछ । साथैडिजिटल कारोबार सुरक्षित र भरपर्दो छ भनी विश्वस्त पार्न सक्नुपर्छ ।

नेपाल राष्ट्रबैंकले पनि आफ्नो एकीकृत निर्देशिकामार्फत ‘इजाजतपत्रप्राप्त संस्थाले आफ्ना कार्यक्रमहरुमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम अनिवार्यरुपमा समावेश गरेको हुनुपर्दछ’भनेको छ । त्यसैले अब वित्तीय साक्षरतालाई कुनै स्कुल वा क्याम्पसको कक्षाकोठामा सीमित नगरी आफ्ना ग्राहकवर्गलाई डिजिटल बैंकिङको बारेमा साक्षर बनाउनुपर्दछ । नेपालमा बेला–बेलामा हुुने बैंकिङ अपराधका घटनाले आममानिसमा डर पैदा गरेको छ । त्यसैले बैंकहरुले भरपर्दो प्रविधि प्रयोग गरी साइबर सेक्युरिटीमा विशेष ध्यान दिनुपर्दछ ।

नेपालको बैंकिङ क्षेत्रमा पछिल्लो दुई दशकमा उल्लेखनीय परिवर्तन भए पनि अझैकार्यालयमा गएर नगदमै कारोबार गर्नेहरुको संख्या ठूलो छ । तर अब कोरोना महामारीलाई एउटा पाठको रुपमा लिई बैंकिङ सेवालाई नगदरहित बनाउने अवसरमा रुपान्तरण गर्ने हो भने अवश्य डिजिटल बैंकिङको युगमा प्रवेश गर्न सकिन्छ ।
(लेखक आचार्य एभरेस्ट बैंकमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्