शिक्षा पन्त,लमजुङ ।
सदरमुकाममा रहेको बेसीशहर बजारका अधिकांस खाद्यान्न साथै तरकारी तथा फलफूल व्यवसायीले लकडाउनको समयमा म्याद गुज्रेका सामान विक्री गरेको भेटिएको छ । खाद्यान्न साथै तरकारी तथा फलफूलमा उनीहरुले होलसेल साथै खुद्रा विक्री गर्दै आएकोमा उनीहरुले गर्ने व्यवसायमा बढी समस्या देखिएको अनुगमन टोलीको भनाई छ ।
सबै पसलमा विक्री मूल्यमा एकरुपता भएको नदेखिएपछि बेसीशहर नगरपालिकाले अधिक मूल्यमा विक्री नगर्न चेतावनी समेत दिएको छ । खासगरी तराईमुलका व्यवसायीले लापारवाही गर्ने गरेको अनुगमन टोलीले बताएको छ । जनप्रतिनिधि, कर्मचारी, व्यवसायीको छाता संगठन लमजुङ उद्योग वाणिज्य संघका पदाधिकारीसम्मिलित अनुगमन टोलीले अनुगमन गरेको थियो ।
अनुगमनको क्रममा म्याद नाघेका केही सामानलाई नष्ट गर्दै अन्यलाई फिर्ता गर्न र आगामी दिनमा व्यवस्थित गर्न चेतावनी दिएको बेसीशहर बजार अनुगमन उपसमिति संयोजक सुशिला श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार प्यान नभएको बिल दिएर पसलहरुमा तरकारी तथा फलफूल विक्री गर्न आएको एउटा जिपको लाइसेन्स र बिलबुक अनुगमन टोलीसंगै खटिएको प्रहरीले नियन्त्रणमा लिएको छ ।
अनुगमनका क्रममा ग्रामीण भेगबाट आउने लोकल तरकारीको मूल्य बढी पर्ने गुनासो व्यवसायी र उपभोक्ताले गरेका छन् । उक्त सामान खरिद गर्दा बिल नपाउने समस्या रहेको व्यवसायीले बताएका छन् । अनुगमन टोलीका अनुसार अघिल्लो मितिमा गरिएको अनुगमनले फलफूलमा केहीमात्रामा कम मूल्यमा विक्री गरेको पाइएपनि मूल्य एकै किसिमको नभएको भेटिएको छ ।











प्रतिक्रिया