होम क्वारेन्टाइनको निगरानीमा खटिने पाँच सय जनालाई सिमकार्ड वितरण



रामधन राई,खोटाङ ।

बैशाख–२३, खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिकाले होम क्वारेन्टाइनको निगरागनीमा खटिएका पाँच सय जना अनुगमनकर्तालाई मोबाइलको सिम निःशुल्क वितरण गरेको छ । राजधानी काठमाडौँमा बसिरहेका नगरबासीलाई लकडाउनकैबीचमा गाउँ ल्याएको नगरपालिकाले होम क्वारेन्टाइनको आचारसंहिता पालन गराउन अनुगमनमा खटाइएकाहरुलाई फ्री कल सहितको सिमकार्ड वितरण गरेको हो ।

गाउँपालिकाले होम क्वारेण्टाईन अनुगमन गर्ने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका, सुरक्षाकर्मी, वडा सचिव, शिक्षक र कृषि पशु प्राविधिकलाई निःशुल्क एनसेलको सिम वितरण गरेको हो । आपसी फोन सम्पर्क र समन्वय गर्न नगरपालिका र एनसेलसँगको सहकार्यमा अनुगमनकर्तालाई एक/एक थान सिम कार्ड वितरण गरिएको नगरप्रमुख इवन राईले बताउनुभयो ।

नगरपालिकाले काठमाडौँ उपत्यकामा बसिरहेको अवस्थामा लकडाउनको मारमा परेका एक हजार २ सय ६७ जना सर्वसाधारणलाई होम क्वारेन्टाइनमा बस्ने शर्तमा गत वैशाख ११ र १२ गते २५ वटा बसमार्फत गाउँमा ल्याएको थियो । त्यसबीचमा आफै गाडी रिजर्भ गरेर घर आउने नगरबासीको सङ्ख्या पनि उत्तिकै रहेको मेयर राईको भनाई छ ।

यसैबीच, हलेसी तुवाचुङ नगरपालिकाको क्वारेन्टाइनबाट अहिलेसम्म १४ जना छुटेका छन् । १४ दिनको बसाई पुरा गरेउनीहरु क्वारेन्टाइनबाट छुटेका हुन् । ११ वडा रहेको नगरपालिकाको विभिन्न स्थानमा बनाइएको क्वारेन्टाइनमा अझै ११ जना स्थानीय बसिरहेको स्वास्थ्य शाखाका सह–संयोजक प्रकाश घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्