मध्यपूर्वी पृतनाको पृतनापतिद्वारा अवलोकन र अन्तर्क्रिया

‘स्याल मार्न बाघको खजाना आवश्यक’ – पृतनापति कार्की



मोतीराम तिमल्सिना,काभ्रे ।

नेपाली सेना मध्यपुर्वी पृतना हेडक्वाटरका पृतानपति उपरथी सुरेशकुमार कार्कीले काभ्रेपलाञ्चोक जिल्लामा कोभिड १९ रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि सहकार्य र समन्वयमा भएको कार्य प्रति धन्यवाद ब्यक्त गर्नु भएको छ ।पृतानपति कार्कीले कार्य क्षेत्र भित्र रहेका जिल्लाहरुमा नेपाली सेना तथा जिल्लामा रहेका अन्य निकायहरुले गरिरहेको तयारीका बारेमा अनुगमन गरी महामारी नियन्त्रणका लागि थप तयारी गर्न सुझाव समेत दिनु भएको छ ।

‘अहिले भईरहेको तयारी प्रति म पूर्ण सन्तुष्ट छु तर यो महामारी नहुँदासम्मको तयारी हो, महामारी भए पछि अझै धेरै संकट निम्तिन सक्छ’–पृतनापति कार्कीले भन्नुभयो–‘त्यसको तयारीका लागि आवश्यक पूर्वाधार, स्वास्थ्य सामाग्री र जनशक्ति तयारी अवस्थामा रहनु पर्छ ।’ जिल्लामा भएको क्वारेन्टाईन, आईसोलेसन, पिपिई, माक्स, स्यानिटाईजर, खाद्यान्न र अन्य सामाग्रीहरुको भण्डारणका लागि ध्यान दिन आग्रह गर्नु भयो ।

‘लडाईमा जाने सिपाहिहरुका लागि गोलिगठ्ठा चाहिए जस्तै कोरोनाको महामारीमा लड्ने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुका लागि स्वास्थ्य सामाग्री आवश्यक छ’–पृतनापति कार्कीले भन्नुभयो–‘तीन तहकै सरकारले स्वास्थ्य सामाग्री उपलब्ध गराउने विषयमा ध्यान दिनु पर्छ ।’ स्याल मार्न बाघको खजना तयार गर्नु पर्ने उखानलाई आत्मसात गर्दै कोरोना विरुद्धको लडाईमा होमिन अनुरोध गर्नु भयो ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले काभ्रे जिल्लामा भएको तयारीका बारेमा जानकारी गराउँदै संक्रमण आशंका गरिएका विरामीको उपचारका लागि अस्पतालसम्म ल्याउने, अस्पतालमा गरिने उपचार, उपचार पछिको अवस्था तथा निको नभई मृत्यु भएको अवस्थामा ब्यक्तिको शव ब्यवस्थापन समेतका बारेमा नेपाली सेनाले गरेको पूर्व अभ्यासले सन्तुष्ट भएको बताउनु भयो ।

साथै सेना तथा सुरक्षानिकायलाई श्रोत साधन सम्पन्न बनाउनु पर्नेमा समन्वय समिति प्रमुख केसीले जोड दिनु भयो । नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले स्थानीय सरकारको तयारीका बारेमा जानकारी गराउँदै आवश्यक पर्दा धुलिखेल नगरपालिकाले १ करोडको विपद कोष तयार गरेकाले त्यहि कोषबाट महामारी नियन्त्रण गर्ने बताउनु भयो ।

सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुका लागि नगरपालिकाले आवश्यक पर्ने स्वास्थ्य सामाग्री उपलब्ध गराउने बताउँदै नगर प्रमुख ब्याञ्जुले नगरपालिकाले पहिलो चरणमा स्थानीय ब्यक्तिहरु, संघ संस्थाको समन्वयमा वडा मार्फत राहत वितरण गरिएको र दोश्रो चरणमा नगरपालिका आफैले गरिव तथा न्यून आए भएका ब्यक्तिहरुका लागि राहत वितरण गरिने बताउनु भयो । जिल्लामा कोभिड १९ रोकथाम र नियन्त्रणका लागि गरिएको तयारी प्रति सन्तुष्ट जनउँदै नगर प्रमुख ब्याञ्जुले अझै ब्यवस्थित गर्न नगरपालिकाले सहयोग गर्ने बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी एवं कोभिड १९ रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि गठित समितिको संयोजक श्रवणकुमार तिमल्सिनाले जिल्लामा भएको तयारीका सन्र्दभमा जानकारी गराउनु भएको थियो । जिल्लामा स्थानीय सरकार तथा संघ संस्थाको पहलमा १६ हजार ९ सय ६ परिवारलाई राहत उपलब्ध गराईएको, विदेशबाट फकिएका समेत गरी ५ सय २३ जनाको आरडिटी परिक्षण गरिएको, ५ सय ८९ मध्ये ६९ जना जिल्लाबासीहरुको पिसिआर परिक्षण गरिएको, १ हजार ५ सय ६६ थान पिपई प्राप्त भए पनि पर्याप्त नभएको प्रजिअ तिमल्सिनाले बताउनु भयो ।

जिल्लामा ३ सय ४२ शैयाको क्वारेन्टाईन, १३ बेडको आईसोलेसन रहेको बारेमा जानकारी गराउनु भएको थियो । धुलिखेल अस्पताल, शिर मेमोरियल अस्पताल लगायतमा भएको तयारीका बारेमा प्रजिअ तिमल्सिनाले जानकारी दिनु भयो । अन्र्तक्रिया कार्यक्रममा विष्णु दल गण धुलिखेलका गणपति प्रमुख सेनानी सुबास खड्काले जिल्लामा कोभिड १९ का लागि भएको तयारी र नेपाली सेनाको पुर्व अभ्यासका बारेमा जानकारी गराउनु भएको थियो ।

धुलिखेल अस्पतालका प्रमुख प्रशासकिय प्रमुख डा. रमेश माकजुले अस्पतालले डेड महिनाको अवधीमा अस्पतालले २ करोड रुपैया खर्च गरी कोभिड रोकथाममा ध्यान दिएको बताउनु भयो । हालसम्म अस्पतालको आईसोलेसनमा ११ जनाको उपचार भएको छ । धुलिखेल अस्पताललाई सरकारले कोभिड १९ को क्लिनिक संचालन गर्ने अनुमति प्रदान गरिएको छ ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले सरकारले आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध नगराउँदा समस्या भएको बताउनु भयो । जिल्ला प्रहरी प्रमुख एसपी रविकुमार पौड्यालले कोभिड १९ रोकथामका लागि जिल्ला स्थित सुरक्षा निकायले सक्दो प्रयास गरिरहेको बताउँदै आवश्यक स्वास्थ्य सामाग्रीको अभाव रहेको बताउनु भयो ।

धुलिखेल अस्पतालका डा. सुमनराज ताम्राकारले पिसिआर किट अभाव हुँदै गएकाले तत्काल ब्यवस्थापनमा ध्यान दिनु पर्ने बताउनु भयो । शशस्त्र प्रहरी बल १५ नम्वर गण हेडक्वाटरका प्रमुख एसपी पुरुषोतम थापाले सुरक्षाकर्मीका लागि आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउन पहल गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा बाहिनीपति सुरजबाबा सुनुवार, सहायक रथी , महासेनानी, प्रमुख सेनानी, राष्ट्रिय अनुसन्धान काभ्रेका प्रमुख सरोज निरौला लगायतको सहभागिता रहेको थियो । पृतनापति सुरेशकुमार कार्की लगायतको टोलीले धुलिखेलको सञ्जिवनी मावीमा रहेको क्वारेन्टाईनको निरिक्षण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्