म्याग्दीमा एकैदिन भेटिए ३ जना डेंगु संक्रमित, सतर्कता अपनाउन आग्रह



प्रताप बानियाँ,म्याग्दी ।

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को त्राससँगै हिमाली जिल्ला म्याग्दी डेंगु रोगका संक्रमित भेटिएका छन् । आइतबार एकैदिन तीन जनामा डेंगु संक्रमण देखिएपछि म्याग्दी जिल्ला डेंगु रोगको उच्च जोखिममा परेको हो । बेनी नगरपालिकाको विभिन्न वस्तीबाट उपचारका लागि बेनी अस्पतालमा आएका एक महिला र दुई पुरुषमा संक्रमण देखिएपछि जिल्लामा बैशाख महिनामै डेंगु संक्रमितको सङ्ख्या ५ पुगेको छ ।

एक्कासी उच्च ज्वरो आउने, शरिरमा जाडो हुने र जोर्नीहरु दुख्ने जस्ता लक्षणहरू देखिएपछि ल्याब परीक्षण गर्दा उनीहरुमा डेंगु रोगको संक्रमण पोजिटिभ देखिएको बेनी अस्पतालले जनाएको छ । बेनी नगरपालिका–५ पुलाचौर, ६ अर्थुङ्गे र ९ घतानमा एकएक जना डेंगुको संक्रमित भेटिएका छन् । तीमध्ये ६ नम्बर वडामा भेटिएको संक्रमित महिला हुन्भने ५ र ९ वडाको दुईजना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

म्याग्दीमा हालसम्म ५ जनामा डेंगुको संक्रमित भेटिएकोमा ३ जना उपचारपछि घर फर्किएका छन्भने २ जनाको उपचार भैरहेको बेनी अस्पतालका क्लिनीकल कोअर्डिनेटर डाक्टर नवराज वस्ताकोटीले बताए ।कोरोना संक्रमणको त्रासका कारण लकडाउनमा आवतजावत समेत नहुँदा पाँचजना डेंगु संक्रमित भेटिएको अवस्थामा नियमित सवारीसाधन सञ्चालन भएमा बिरामीको सङ्ख्या थपिने भन्दै सर्तकता अपनाउन चिकित्सकले अनुरोध गरेका छन् ।


यसअघि पश्चिम म्याग्दीको मंगला गाउँपालिका–५, अर्मनको सिर्कुम र मालिका–४, ओखरबोटका एक युवामा डेंगु देखिएको थियो । डेंगुको संक्रमणको जोखिम ग्रामीण क्षेत्रको तुलनामा सहर बजारमा हुने भए पनि म्याग्दीमा भेटिएका पाँचजना बिरामी नै ग्रामीण क्षेत्रको भएकाले यसवर्ष बिरामीको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।

गतवर्ष म्याग्दीमा १२ जनामा डेंगु र १ जनामा स्क्रबटाइफसको संक्रमण देखिएको थियो । डेंगु ज्वरो एडिज एजिप्टाई जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक सरुवा रोग हो । डेंगु एक बिरामीबाट अर्को बिरामीमा समेत सजिलै संक्रमण फैलिने भएकाले सतर्कता अपनाउनुपर्छ । डेंगुबाट जोगिन वनजंगलमा घाँस दाउरा ल्याउन जाँदा, पशुचौपाया राख्ने गोठ आसपासका क्षेत्र, घरभित्र र वरपरको वातावरण सफा राख्ने, पानी जम्ने खाल्डाखुल्डी पुरिदिने, झाडीमा जाँदा शरिर ढाक्ने कपडा लगाउने लगायतका सर्तकता अपनाउनुपर्ने आवश्यकता रहेको चिकित्सकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्