मजदुरको पीडामा मे वान



मजदुर दिवसको अवसर पारेर श्रमिकको पीडाको कथा बुनिएको छोटो फिल्म मे वान सार्वजनिक गरिएको छ। मे दिवसका अवसरमा मे वान नामको लघु फिल्म युट्युबमा सार्वजनिक गरिएको हो।

कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सरकारले लागू गरेको लकडाउनका समयमा सबैभन्दा बढी मारमा श्रमिकहरू परेका छन्। यसै विषयलाई लिएर सन्देशमूलक लघु फिल्म मे वान बनाइएको हो। लघु फिल्म्मा दीप ज्योति थापा, अनित जंग पाण्डे, विराज दुलाल र भोला सुवेदीले अभिनय गरेका छन्।

यो लघु फिल्ममा काम गरेबापत पारिश्रमिक नपाएको पीडा देखाउन खोजिएको छ। फिल्ममा लकडाउनका समयमा पनि काम गर्न बाध्य तर आर्थिक शोषणमा परेका सञ्चारकर्मीको कथा पनि देखाइएको छ।

लघु फिल्म सञ्चारकर्मी पुरुषोतम बस्नेतले निर्देशन गरेका छन्। हरेक क्षेत्रमा श्रमशोषण हुने गरेको भन्दै सांकेतिकरूपमा एउटा पात्र र कथालाई लिएर मे वान निर्माण गरिएको निर्देशक पुरुषोत्तम बस्नेतले बताए।

‘मजदुरका नाममा राजनीति मात्र होइन, उनीहरूको वास्तविक समस्या पनि समाधान गरौं। श्रमको मूल्य तिरौं, श्रमिकको इज्जत गरौं। यसको सांकेतिक प्रस्तुति यो लघु फिल्म हो।’ –निर्देशक बस्नेत भन्छन्।

अनिल कुमार महर्जनको सम्पादन रहेको लघु फिल्मको कास्टिङ डाइरेक्टर वसन्त अधिकारी हुन्। कपिल खड्का र भोला सुवेदीको छायांकन तथा नेसन मिडिया ग्रुप प्रालिको निर्माण रहेको यो लघु फिल्म नेसन टिभी नेपाल युट्युब च्यानलमा अपलोड गरिएको छ।

प्रतिक्रिया दिनुहोस्