रहिनन् रानुदेवी



न्युज अफ नेपाल,काठमाडौँ ।

रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारी अब रहिनन्। प्रजातन्त्र सेनानीसमेत रहेकी रानुदेवी अधिकारीको ८८ वर्षको उमेरमा निधन भएको हो।
उनको बिहीबार राती २ बजे सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो। कान्छी छोरीका साथ राजधानीमा बस्दै आएकी उनी अल्जाइमर र पार्किन्सन्सबाट पीडित थिइन्।

उनको स्वास्थ्यमा समस्या आएपछि बिहीबार राती अस्पताल लगिएकोमा केही बेरमै उनको निधन भएको थियो। उनको बिहीबार राति नै अन्तिम संस्कार गरिएको छ। विराटनगरकी रानुदेवी । तारिणीप्रसाद कोइरालाको प्रेरणामा राणाशासनविरुद्धको लडाइँमा होमिएकी थिइन्।

बाल्यकाल भारतको वनारसमा बिताएकी उनी त्यहाँ रहँदा शास्त्रीय संगीतमा लागेकी थिइन्। उनले २००७ सालमा तारिणीप्रसाद कोइरालाले विराटनगरमा स्थापना गरेको रेडियो नेपालमा गीत रेकर्ड गराएकी थिइन्।

यससँगै उनी रेडियो नेपालकी प्रथम गायिका बनेकी थिइन्। विराटनगरमा रहँदा जागरण गीत गाउँदै आएकी उनले २००७ सालमा उनले रेडियोमा आधा दर्जन गीत रेकर्ड गराएकी थिइन्। सोही साल उनको विराटनगरका तीर्थप्रसाद अधिकारीसँग विवाह भएको थियो। त्यस समयमा उनी ८ कक्षामा पढ्दै थिइन्।
उनले तारिणीप्रसादको शब्द र संगीतमा कलकत्ता पुगेर समेत गीत रेकर्ड गराएकी थिइन्।

उनका ६ गीत रेकर्ड भएका थिए। जागे नेपाली उठे नेपाली, जुनेली रात हजुरलगायत उनले गाएका गीत अहिले पनि चर्चित छन्। २०३६ सालको शिक्षक आन्दोलनमा होमिएपछि जेल परेकी रानुदेवी जनआन्दोलनपछि नेपाल महिला संघ मोरङको अध्यक्ष भएकी थिइन्।

इतिहासमा स्नातकोत्तर रानुदेवीले २०२३ देखि २०५३ सालसम्म अध्यापन गरेकी थिइन। उनी आर्दश बालिका विद्यालय विराटनगरमा अध्यापन गर्थिन् । उनको एक छोरा र दुई छोरी छन्। उनी केही समयअघि मात्र अमेरिकाबाट काठमाडौं फर्किएकी थिइन् । उनी छोरा अविन अधिकारीसँग केही समय अमेरिकामा बसेकी थिइन्। रानुदेवीका छोरा र जेठी छोरी अमेरिकामा रहँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्