पत्रकार निष्काशन तथा तलब कटौती नगर्न फोनिजको माग



मिला दरै,तनहुँ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिले पत्रकार निष्काशन तथा तलब कटौती नगर्न आग्रह गरेको छ । बिहीबार संगठनका अध्यक्ष डण्ड गुरुङको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिममा पत्रकार निष्काशन गर्ने र वेतलबी बस्न सञ्चारगृहले आग्रह गरेको भन्ने पत्रकारको आवाजलाई मध्येनजर गर्दै फोनिजले त्यस्तो नगर्न आग्रह गरेको हो ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट नेपालका पत्रकारहरु र सञ्चार गृहहरु पनि प्रभावित भएकाले सो सम्बन्धमा सरकार र सञ्चारगृहलाई त्यसतर्फ ध्यानाकर्षण गराउने निर्णय गरिएको छ । बैठकले सबै प्रकारका सञ्चार गृहका लागि विशेष प्याकेज ल्याउन सबै तहका सरकारलाई आग्रह गर्ने निर्णय गरिएको संगठन सचिव मिलन लिम्बुले बताउनुभयो ।

कठिन अवस्थामा समाचार संकलनका लागि पत्रकारका लागि आवश्यक सामाग्री उपलब्ध गराउन सम्बन्धित सञ्चार गृहलाई आग्रह गर्ने निर्णय गरेको छ ।
त्यस्तै यो संकटलाई देखाएर कुनै पनि पत्रकारलाई निकासन र तलब कटौती नगर्न सबै सञ्चार गृहलाई आग्रह गरिएको छ ।

बैठकले सम्बन्धित सञ्चार गृहले उपलब्ध गराएको परिचय–पत्रको आधारमा निर्वाध रुपमा समाचार संकलन गर्न दिन सम्बन्धित निकायसँग आग्रह गरिएको र संकटको घडीमा कार्य क्षेत्रमा खट्दा उच्च सावधानी अपनाउन सम्पूर्ण पत्रकारहरूलाई अनुरोध गरिएको लिम्बुले बताउनुभयो । बैठकले विश्वका विभिन्न देशमा कोरोना भाइरसबाट संक्रमित भइ ज्यान गुमाउनुभएका नेपालीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल लगायत विश्वका विभिन्न देशमा कोरोनाबाट संक्रमित नेपालीहरुको स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्