अपहरणमा संलग्नलाई कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई नेविसंघको ज्ञापनपत्र



मिला दरै,तनहुँ ।

लोकतन्त्रात्मक गणतन्त्र भनिएको भएपनि सरकारले गरेको गलत कार्यशैलीको छानविन तथा कारवाहीको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सरकारले गरेका गलत कार्यशैलीले जनताको व्यक्तिगत अधिकार खोसिएको भन्दै नेपाल विद्यार्थी संघ तनहुँले बिहीबार ज्ञापनपत्र बुझाएको हो । बिहीबार नेविसंघ तनहुँका अध्यक्ष चुडामणि खनालले प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीलाई सो ज्ञापनपत्र बुझाउनुभएको हो ।

प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ ‘किसान’, महेश बस्नेत र प्रहरीका पूर्व आइजीपी सर्वेन्द्र खनालले अपहरणमा संलग्न रहेको आइरहेकाले सरकारले प्रक्राउ गरी कारवाहीको दायरामा ल्याउन माग गर्दै नेविसंघले ज्ञापनपत्र बुझाएको तनहुँका अध्यक्ष चुडामणि खनालले बताउनुभयो । जिल्लाबाट निर्वाचित सांसद श्रेष्ठ र पूर्व आइजिपी खनाल अपहरणमा संलग्न भएमा कारवाहीको दायरामा ल्याएर सरकारले जनताको पक्षमा निर्णय लिन ज्ञापनपत्रमा माग गरिएको छ ।

उनीहरुलाई पक्राउ गरी कानुन बमोजिमको कारवाही गर्न आग्रह गरिएको छ । विश्वव्यापी रुपमा कोभिड १९को संक्रमणको जोखिममा रहेकाले यस्तो अवस्थामा मन्त्री परिषदको बैठकले अध्यादेश लगायतका विभिन्न अनावश्यक कार्य गर्नु भन्दा नेविसंघले विश्वका विभिन्न देशमा रहेका पीडित नेपालीहरुलाई ल्याउने प्रवन्ध गर्नतर्फ ध्यान पु¥याउन माग गरिएको छ ।

सरकार कोरोना भाइरस विरुद्धको अभियानमा आवश्यक औषधी तथा तत्काल सहज उपलब्धताको वातावरण बनाउनुको गर्दै यस्तो विषम परिस्थितिमा खरिद प्रक्रियामा भ्रष्टाचार गर्ने व्यक्ति तथा निकायमाथि कडा कारवाही गरियोस् भनि ज्ञापनपत्रमा माग गरिएको छ ।

कोभिड १९को संक्रमण फैलिन नदिन गरिएको लकडाउनका कारणबाट मर्कामा परेका श्रमिक, विपन्न वर्ग, कृषि क्षेत्र र मजदुरका लागि सम्मान जनक रुपमा बाँच्न पाउने अधिकारलाई सुरक्षित गर्दै समान तवरबाट राहत उपलब्ध गराउन माग गरिएको छ । अहिलेको अवस्थामा जायज र सान्दर्भिक मागहरुलाई तत्काल कार्यान्वयनमा ल्याउन माग गर्दछौं भनिएको छ ।

नेविसंघ तनहुँले बैठकमार्फत् नै सरकारको कार्यशैलीको विरोध गर्दै बुधबार जिल्लाको दमौली, गुणादी, भिमाद, ऋषिङ, आँबुखैरेनी, शुक्लागण्डकी लगायतका विभिन्न ठाउँमा विरोध प्रर्दशन गरेको थियो । पोष्टर सहित नेविसंघका कार्यकर्ताहरु दमौलीको मुख्यचोकमा गएर सरकार विरुद्ध प्रर्दशन गरेका थिए । यसअघि मंगलबार तरुण दल व्यास नगर समितिले पनि विरोध प्रर्दशन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्