झापामा कालोबजारी गर्नेलाइ रङ्गेहात कारबाही



उत्तम नेपाल,भद्रपुर ।

लकडाउनको फाइदा उठाउँदै पसलहरूले खाद्यान्न तथा कृषिजन्य लगायत वस्तुको मूल्य बढाएको उपभोक्ताबाट जनगुनासो आउन थालेपछि जिल्लास्तरीय आपूर्ति व्यवस्थापन, अनुगमन तथा सहजीकरण समितिले बजार अनुगमनलाई निरन्तरता दिएको छ । प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईको नेतृत्वमा खटिएको समितिले जिल्लाको बजार अनुगमनलाई तीव्रता दिएको हो ।

सोही क्रममा समितिले बिहीबार बिहान चन्द्रगढी बजारको अनुगमन गरेको छ । अनुगमनको क्रममा भद्रपुर १० स्थित चन्द्रगढी बजारमा रहेको गोर्खा सपिङ कम्पेक्सलाई २० हजार जरिवाना गरेको छ । चण्डीप्रसाद अधिकारी सञ्चालक रहेका कम्प्लेक्स कारोबारको खरिद तथा बिक्री खाता देखाउन नसक्दा आन्तरिक राजश्व कार्यालय मेचीले सो रकम बराबरको जरिवाना गरेको सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिनुभयो ।

अनुगमन टोलीमा प्रशासन कार्यालयका अधिकृत लक्ष्मीप्रसाद खरेल, खाद्य अनुसन्धान अधिकृत भरतबहादुर पुरी, आन्तरिक राजश्व कार्यालयका नायव सुब्बा बालकृष्ण दंगाल, घरेलु तथा साना उद्योगका छविलाल खतिवडा, झापा उद्योग वाणिज्य सङ्घका महासचिव पङ्कजकुमार शर्मा लगायत रहेका थिए ।
लकडाउनको फाइदा उठाउँदै बजारमा कालोबजारी हुन थालेको उपभोक्ताबाट जनगुनासो आएको सूचनाकै आधारमा समितिले अनुगमन गर्दै आइरहेको छ ।

केही दिनअघि पनि समितिले भद्रपुरका चार वटालाई पसललाई जरिवाना गरेको थियो । समितिले सरस्वती स्टोरलाई विल विजक र खरिद विक्री खाता नराखेकोमा ६ हजार, लक्ष्मी भण्डारलाई ६ हजार, शिवशक्ति स्टोरलाई ३ हजार र सुप्रिम स्टोरलाई १० हजार गरी जम्मा २५ हजार जरिवाना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्