डिजेल ट्यांकरमा लागुऔषध



रोशन पराजुली,हेटौंडा ।

लकडाउनको मौका छोप्दै पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरमा लागुऔषध लुकाएर ल्याएका मकवानपुरका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ओसारपसार गरेको अबस्थामा प्रहरीले डिजेल लोड रहेको ट्यांकरलाई नियन्त्रणमा लिएको हो ।
बुधबार राति करिब साढे ९ बजे हेटौंडा उपमहानगरपालिका वडा–१५ स्थित पूर्वपश्चिम लोकमार्गको सडकखण्डमा ट्यांकर नियन्त्रणमा लिइएको हो ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुणकुमार कुशवाहाको कमाण्डमा खटिएको चेकिङ टोलीले रक्सौलबाट काठमाडौंतर्फ जाँदै गरेको ना. ३ ख ६४६६ नम्बर डिजेल लोड रहेको ट्यांकरलाई नियन्त्रणमा लिइएको थियोे ।

चेक गर्ने क्रममा ट्यांकरको तेल निकाल्ने लकिङ बक्समा लुकाइल्याएको लागुऔषध विनरक्स १ सय ५५ बोतल फेला परेको हो । ट्यांकर, लागुऔषधसहित ट्यांकरचालक मकवानपुरको थाहा नगरपालिका वडा–४ घर भएर हेटौंडा–४ डेरा गरी बस्ने वर्ष ३३ का मानबहादुर थोकर र लागुऔषध ओसारपसारमा संलग्न हेटौंडा–४ बस्ने वर्ष ४५ का सेते लामालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्