सीमामा फसेका हजार बढी नेपालीलाई नेपाल ल्याईयो



किरन धामी,दार्चुला ।

लकडाउनका कारण भारतको पिथौरागढ जिल्ला अन्र्तगत पर्ने धारचुला सिमामा विगत एक महिना देखि फसिरहेका एक हजार २ सय ९० जना नेपालीलाई आज नेपाल ल्याइएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुला र भारतिय प्रशासनको समन्वयमा सिमा पुल खुलाइ उनिहरुलाई नेपाल ल्याइएको हो । कोरोना संक्रमण फैलिन नदिन नेपाल‐भारतले गरेको लकडाउनका कारण भारतमा मजदुरी गर्न गएका सुदुरपश्चिम प्रदेश लगायत अन्य जिल्लाका नेपाली नागरिकहरु विगत एक महिना देखी नेपाल संग सिमा जोडिएको धारचुलाको सिमानाकामा फसेका थिए ।

उनिहरुलाई नेपाल ल्याई सम्बन्धित जिल्ला पठाइएको छ । सिमावर्ती क्वारेन्टाइमा विगत एक महिना देखि बसेका एक हजार २ सय ९० जना नेपाली मध्ये खलंगाको नाकाबाट ३ सय ७६ र दत्तुको नाकाबाट ९ सय १४ जनालाई नेपाल ल्याइएको हो । सिमावर्ती क्वारेन्टाइनमा बस्दा तथा लकडाउन भएपछि निकै समस्या परेको बझाङको बुङगल नरपालिकाका जयबहादुर कठायतले गुनासो गर्नुभयो ।

लकडाउनका कारण विगत एक महिना देखि सिमावर्ती क्वारेन्टाइनमा बसेका नेपालीहरुको भारतिय स्वास्थ्यकर्मीहरुले चेकजाँच गरेको तथा कोरोनाको कुनै संक्रमण नभएको धारचुला तहशिलका उप जिल्लाधिकारी अनिल कुमार शुक्लाले बताउनुभयो ।

नेपाल‐भारत प्रशासन संगको समन्वयमा ३५ दिन पछि नेपाल ल्याइएका उनिहरुलाई स्वास्थ्य चेकजाँच तथा खाजा खुवाएर सम्बन्धित जिल्ला पठाएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनभयो ।

सिमामा फसेका नेपाली नागरिकलाई ल्याउन ढिलो गरी निर्णय गरेको केन्द्र सरकार धन्यवाद दिदै महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले सुदुरपश्चिम प्रदेश बाहेकका नेपाली नागरिकलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएको जानकारी दिनुभयो । एक महिना देखी भारतमा फसेका बैतडीको पुर्चौडी नगरपालिका‐५ कुवाकोटका सोमराज पन्त नेपाल प्रवेश पाए पछि खुसी भएका छन् । कोरोना संक्रमण भएपनि आफ्नै देशमा उपचार र बोल्न पाइने प्रति उनि निकै खुसी देखिन्थे ।

प्रतिक्रिया दिनुहोस्