मकवानपुरमा चट्याङको उच्च जोखिम



न्युज अफ नेपालल,हेटौंडा ।

मकवानपुरको भीमफेदी गापा–९, च्याउखोलामा घरमा सुतिरहेका पतिको मृत्यु भयो भने पत्नी घाइते भइन् । वर्षासँगैको चट्याङका कारण उनीहरुमाथि यो प्राकृतिक विपद् आएको हो । चट्याङ लाग्दा बेहोस बनेका वर्ष २३ का विजय स्यांतानलाई हेटौंडा अस्पतालले मृतघोषणा गरेको थियो । सँगै सुतेकी उनकी वर्ष २२ की पत्नी सबिता स्यांतानको तिघ्रामा चोट लागेको थियो ।

हावाहुरीसँगैको चट्याङ लागेर केही समयअघि तीन जनाको मृत्यु भएको थियो । मनहरी गाउँपालिका–२, ठाडोखोलास्थित झुल्यानका ३० वर्षीय भीमलाल सिन्तान र उनकी अढाई वर्षीया छोरी बिमलाको ज्यान गएको हो । हेटौंडा–१६, चिसापानीका ६० वर्षीय कृष्णबहादुर बलामीको पनि मृत्यु भयो । उनीहरु तीनै जनाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

मकवानपुरका दुई गाउँमा चट्याङ लागेर १० जना घाइते भए । भीमफेदी गाउँपालिका–९, भदौरेमा चट्याङ लागेर ५ जना घाइते भए । चट्याङले एक बालकसहित ५ जना घाइते भए । घाइते हुनेमा १२ वर्षीय सफल उप्रेती, ५० वर्षीया पार्वती पराजुली, ६० वर्षीय आनन्दराम पराजुली, ३० वर्षीया सुनिता प्रजा र ४० वर्षीय कृष्णबहादुर प्रजा छन् ।

पश्चिमी मकवानपुरको राक्सिराङ गाउँपालिकामा पनि चट्याङका कारण ५ जना बेहोस भए । चट्याङका कारण राक्सिराङ गाउँपालिका–१, भूमिथुमका ५ जना बेहोस भएका हुन् । बेहोस हुनेमा स्थानीय सुन्तली थिङ, वीरबहादुर बल, वसन्त बल, ठूलीमाया र १ वर्षका बालक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ ।

१५ जनालाई चट्याङ लागे पनि अन्यको अबस्था सामान्य रहेको थियो । चट्याङबाट ३ घरमा क्षति पुग्यो भने ५ पशुचौपाया मरेका थिए । चट्याङबाट एक जनाको ज्यान जाँदा तीन जना सामान्य घाइते भएका थिए । मकवानपुरगढी गाउ“पालिका–७ बस्ने २६ वर्षीय इन्द्रबहादुर घिसिङलाई आफ्नै घरमा बसिरहेको अबस्थामा चट्याङ लागेपछि उनको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यिनै तथ्यलाई मनन् गरेर मकवानपुर जिल्ला देशकै चट्याङग्रस्त सबभन्दा बढी जोखिममा परेको जिल्लामा सूचीकृत गरिएको छ । चट्याङका कारण वर्षेनी धेरै जनधनको क्षति हुने गरेपछि मकवानपुरलाई जोखिम जिल्लाको सूचीमा राखिएको हो । हरेक वर्ष चट्याङबाट हुने मानवीय तथा भौतिक क्षति र घटनालाई आधार मानेर सरकारले मकवानपुरलाई चट्याङग्रस्त जिल्लामा समेटेको हो ।

मकवानपुरको कैलाश, राक्सिराङ, मकवानपुरगढी र भीमफेदी गाउँपालिकामा चट्याङ लागेर वर्षेनी धेरै जनधनको क्षति हुने गरेको छ । गृह मन्त्रालयअन्तर्गत् विपद् जोखिम न्यूनीकरण तथा व्यबस्थापन प्राधिकरणले मकवानपुरलाई चट्याङग्रस्त क्षेत्रका रुपमा घोषणा गरेर रोकथाम तथा क्षति न्यूनीकरणको तयारी थालेको छ । प्राधिकरणले चट्याङग्रस्त क्षेत्रलाई बढी जोड दिएर इलेक्ट्रोनिक म्याप बनाएको थियो ।

र, सोको अध्ययन थालिएको छ ।हरेक वर्ष चट्याङबाट हुने मानवीय र भौतिक क्षतिको विवरण तथा घटनाको अध्ययन/अनुसन्धान गर्दा नदीका दुवै तटीय क्षेत्र तथा चुरेपर्वतका पूर्वदेखि पश्चिमसम्मको भुभाग बढी जोखिमयुक्त रहेको पाइएको हो । चट्याङ प्राकृतिक विपद् भएका कारण आकाश गड्गडाउने तथा बढी जोखिमयुक्त समयमा घरबाट बाहिर ननिस्कन विज्ञहरुले सुझाव दिएका छन् । चैत–असारको समय बढी चट्याङ पर्ने समय हो ।

प्रतिक्रिया दिनुहोस्