बलिउड अभिनेता इरफान खान आईसीयूमा



एजेन्सी,मुम्बई ।

बलिउड अभिनेता इरफान खानलाई स्वास्थ्य समस्या देखिएपछि मुम्बईस्थित कोकिलाबेन अस्पतालको आईसीयूमा भर्ना भएका छन् । उनलाई के भएको हो भन्ने भने नखुलाइए पनि स्वास्थ्य अवस्थामा समस्या आएपछि अस्पताल भर्ना गरिएको जानकारी दिईएको । तर इरफानका परिवारले भने आधिकारिक रुपमा केही जानकारी दिएका छैनन् ।

तर इरफानका एक प्रवक्ताले भने उनलाई अस्पताल भर्ना गरिएको पुष्टि गरेका छन् । उनले भने, ‘हो, इरफान खानलाई मुम्बईको कोकिलाबेन अस्पताल भर्ना गरिएको छ । उहाँलाई कोलोन इन्फेक्सन भएको छ । हामी उहाँको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिइरहनेछौं । अहिले उहाँ चिकित्सकको निगरानीमा हुनुहुन्छ । उहाँको शक्ति र साहसका कारण अहिलेसम्म यो रोगसँग लड्दै आउनु भएको छ । हामी विश्वस्त छौं कि उहाँको अपार इच्छा शक्ति र उहाँलाई माया गर्ने सबैको प्रार्थनाले चाँडै नै निको हुनुहुनेछ ।’

गत वर्ष लन्डनमा उपचार गराएर फर्केपछि इरफान मुम्बईको कोकिलाबेन अस्पतालकै डाक्टरको निगरानीमा नियमित रुपमा स्वास्थ्य जाँच गराइरहेका छन् । ‘अंग्रेजी मिडियम’ छायांकनका बेला पनि उनको स्वास्थ्यमा समस्या आएको बताइएको थियो । उनको स्वास्थ्य अवस्थाका कारण केही समय छायांकन पनि रोकिएको थियो ।

गत शनिबार बिहान मात्र उनकी आमा सइदा बेगमको ९५ वर्षको उमेरमा निधन भएको थियो । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण उनी आमाको अन्तिम संस्कारमा जान पाएनन् । उनी भिडियो कन्फरेन्समार्फत आमाको अन्तिम संस्कारमा सहभागी भएको हिन्दुस्तान टाइम्सले जनाएको छ । भारतमा मे ३ सम्म लकडाउन लम्ब्याइएको छ ।५४ वर्षीय इरफान खान न्यूरोएन्डोक्राइन ट्युमरबाट ग्रसित छन् । उनी यसको लन्डनमै उपचार गराइरहेका थिए । सन् २०१८ को मार्चमा उनमा यो रोग देखिएको आफैले ट्वीटमार्फत बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्