पर्वतमा लकडाउनमा कडाई गरिदैँ,पैदल आवतजावत गर्नेलाई नियन्त्रणमा लिईने



न्युज अफ नेपाल,पर्वत ।

केही दिन यता लक डाउन उल्लंघन गर्ने क्रम बढ्दै जान थालेपछि पर्वतमा पैदल आवतजावत गर्नेलाई समेत निर्णय भएको छ । जिल्ला कमाण्ड पोष्टको मंगलबारको बैठकले लक डाउन उल्लंघन बढ्दा संक्रमण फैलने जोखिम बढ्ने निष्कर्ष सहित पैदलयात्रामा निस्कनेलाई समेत नियन्त्रणमा लिने निर्णय गरेको हो ।

लक डाउनलाई थप प्रभाबकारी पर्वत जिल्ला जोडिने सिमाना चेकजाँचमा थप कडाई गरिने भएको छ । कडाई गर्ने क्रममा सवारी साधन मात्रै नभई पैदलरुपमा हुने आवतजावतलाई समेत नियन्त्रण गर्ने भएको छ। ‘लकडाउन थप प्रभाबकारी बनाउन जिल्लाको सिमा नाकामा चेकजाँचमा थप कडाई गर्ने तथा ब्यक्तिहरुको आवतजावतमा समेत थप कडाई गर्दै नियन्त्रण गर्ने’ निर्णय गरिएको छ।

प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले लक डाउन उल्लंघन गर्ने क्रम बढेको देखिएकाले केन्द्रिय निर्देशन अनुसार थप कडाई गर्ने निर्णय भएको जानकारी दिनुभयो । ‘अब थप कडाई गर्दै लैजान्छौ’ उहाँले भन्नुभयो‘पछिल्ला दिनमा जिल्लामा जोखिम बढेको देखिएकाले नियन्त्रणका लागि कडाई गर्नुपरेको हो।’

पर्वतमा छिमेकी जिल्लाबाट पास लिई वा नलिएर पनि सयौ मानिसलाई अलपत्र परेको भन्दै उद्दार गरेर जिल्ला ल्याइएको छ। काठमाण्डौ, पोखराबाट एसीबसमा राखेर राजनैतिक उद्देश्यले ‘उद्दार’ गर्ने प्रतिष्पर्धाले लक डाउन पुरै उल्लंघन भएको छ । यसरी मानिस भित्र्याउने क्रममा स्थानिय प्रशासनले देखेको नदेखे झै गरेर मौन स्विकृति दिएको आरोप लाग्दै आएको छ । एकसाता भित्र काठमाण्डौ पोखराबाट कम्तीमा ५ सय भन्दा बढी मानिस भित्रीएका छन ।

पैंयु गाउँपालिकामा काठमाण्डौबाट आएकालाई क्वारेन्टाइनमा राखिएको छ भने अन्य पालिकाहरुले होम क्वारेन्टाईनमा बस्न अनुरोध मात्रै गरेका छन । यसरी आएका मानिसहरु गाउँघरमा डुलेको सुचना आएका कारण संक्रमणको खतरा देखिएको भनेर प्रशासनले सतर्कता र कडाई गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ। बाहिर जिल्लाबाट आएकाहरुको बिबरण स्थानिय तहको सहयोगमा संकलन गर्ने र सुरक्षा निकायको समेत सहयोगमा ट्रयाकिङ्ग गरिने भएको छ ।

यसैगरी स्थानिय तहको पास र सिफारिसका आधारमा जिल्ला भित्रने र बाहिरने संख्या दैनिक बढी रहेको छ । मंगलबारको कमाण्डपोष्ट बैठकले भने स्थानिय तहहरुको सिफारिसमा अन्तर जिल्ला तथा जिल्ला भित्र समेत चलेका सवारी साधनहरुलाई नियन्त्रणमा लिने निर्णय गरेको छ । स्थानिय तहबाट अनाबश्यक ब्यक्तिलाई पास दिने र पासका लागि सिफारिस गर्दै आएको भेटिएको छ।

अत्याबश्यक कामका लागि स्थानिय प्रशासनबाट जारी भएका पास बिनाका सवारी साधनहरुलाई नियन्त्रणमा लिने र पास बिनाका सबै सवारी साधनलाई सञ्चालनमा रोक लगाउने जिल्ला प्रशासन कार्यालयले सोमबार नै सार्वजनिक सुचना जारी गरिसकेको छ ।

बिकास निर्माणका कार्यहरुलाई भने सहज रुपमा सञ्चालन गर्न दिइने भएको छ। संघीय सरकार र प्रदेश सरकारले समेत राष्ट्रिय गौरबका योजना देखि प्रदेश र स्थानिय सरकारले सञ्चालन गरेका योजनाहरुको काम सुचारु गर्ने निर्णय गरेको छ । कतिपय योजनाहरु सुचारु भएका छन भने कतिपय योजनाहरुले निर्माण सामाग्रीको ढुवानीमा असहजताका कारण काम थाल्न सकेका छैन । यस्ता बिकास निर्माणका कामका सवारी साधनलाई निर्वाध रुपमा सञ्चालन गर्न दिइने भएको छ। औधोगिक उत्पादनलाई समेत सुचारु गरिने भएको छ।

प्रतिक्रिया दिनुहोस्