समाजवादी पार्टी रुपन्देहीद्वारा प्रधानमन्त्रीको राजीनामा माग



यमलाल भुसाल,बुटवल ।

समाजवादी पार्टी रुपन्देहीले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग गरेको छ । महोत्तरीका सांसद एवं पुर्व राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई समाजवादी पार्टी फुटाउने उद्देश्यले प्रधानमन्त्रीकै निर्देशनमा अपहरण गरेर काठमाडौं लगिएको र घटनामा संलग्नमाथि कारवाहीका लागि मुद्दा दर्ता गर्न जांदा नगरिएको भन्दै राजीनामा माग गरिएको हो ।

कोभिड १९ को महामारीका कारण देशव्यापी लकडाउन जारी रहेको र संसद नचलेका बेला प्रधानमन्त्री ओलीले दल फुटाउन सहज हुने अध्यादेश ल्याउनु अत्यन्त गैरजिम्मेवार, देशघाती, अराजनीतिक र अविवेकी कार्य भएकाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने पार्टीको माग छ ।

‘झण्डै दुई तिहाई वहुमत हुंदाहुंदै आफ्नो र गुटको स्वार्थका लागि, सत्तामा टिकिरहन अन्य दल फुटाउने, सांसद किनबेच गर्ने र मुलुकलाई अस्थिरतामा धकेल्ने दुर्नियतका साथ ल्याइएको उक्त अध्यादेश विपक्षी दलहरु र आफ्नै पार्टीभित्रबाट समेत चर्को विरोध भएपछि विरोधलाई थेग्न नसकेर वाध्य भई फिर्ता लिइनु सकारात्मक हो ।

तर प्रधानमन्त्रीको कदमको घोर बिरोध एवं भत्र्सना गर्दछौं’– पार्टीका रुपन्देही अध्यक्ष रामअवतार यादवद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ–‘प्रधानमन्त्री ओलीको सल्लाह र निर्देशनमा पुर्व प्रहरी प्रमुख र पार्टीका दुईजना सांसदलाई लकडाउनका बेलामा महोत्तरी पठाएर समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको राजनीतिक अपहरण गरिनु र अपहरणमा संलग्न व्यक्तिमाथि प्रहरीले मुद्दा दर्ता नगर्नुले कानूनी राज्यको उपहास भएको छ ।

यी सबै घटना क्रममा प्रधानमन्त्री ओली जोडिएकाले नैतिकताका आधारमा उहां पदमा रहिरहन मिल्दैन ।’ सांसद यादवको अपहरणमा संलग्नमाथि कानुनी कारवाही गर्न समाजवादी पार्टीले माग गरेको छ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच हालै सम्पन्न एकताले हिमाल,पहाड र तराईका सबै वर्ग, समुदायको पहिचान र अधिकार प्राप्तिका लागि भरपर्दो वैकल्पिक शक्ति निर्माण हुने विश्वास पलाएको विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्