आर्थिक मारमा अस्ट्रेलियाली क्रिकेट



सिडनी, एजेन्सी।

पूरै विश्वलाई आफ्नो चंगुलमा पारिसकेको कोरोना भाईरसका कारण खेल जगतको अवस्था खराब छ। जुलाई–अगस्तसम्मका प्राय सबै खेल प्रतियोगिता स्थगित भइसकेका छन्। जसको असर अस्ट्रेलियाली क्रिकेटमा देखिन थालेको छ।

एउटा रिपोर्ट अनुसार, कोरोनाका कारण अस्ट्रेलियाली क्रिकेटले चरम आर्थिक मार खेपिरहेको जनाईएको छ। जसका कारण यस वर्ष टी–२० विश्वकप आयोजना गर्ने जिम्मेवारी पाएको अस्ट्रेलिया थप संकटमा परेको छ।

अस्ट्रेलियाली क्रिकेटका प्रमुख कार्यकारी अधिकारी केभिन रोबर्ट्सले आर्थिक संकटका कारण कसैलाई पनि भुक्तानी गर्न नसकिरहेको अवस्था सिर्जना भएको बताएका छन्।
केही दिन अघि मात्र अस्ट्रेलियन क्रिकेट बोर्डले आफ्ना ८० प्रतिशत कर्मचारीहरुलाई ३० जूनसम्म २० प्रतिशत मात्र तलब दिने घोषणा गरेको थियो। यस्तो अवस्था अगस्तसम्म लम्बिने सम्भावना रहेको बताइएको छ। कोरोना महामारीका कारण विश्वभरको शेयर बजारमा गिरावट आएको छ। जसबाट अस्ट्रेलियाली क्रिकेटको फाइनान्सियल रिजर्भ पनि सकिएको छ। केहि दिनअघि मात्र अस्ट्रेलियन क्रिकेट बोर्डले कोरोनाको असर अन्य खेलको तुलनामा क्रिकेटमा बढी परेको बताएको थियो।

यस्तो अवस्थाका बावजूद पनि अस्ट्रेलियाले यो वर्ष दुईवटा ठूलो प्रतियोगिता गर्ने आशा ब्यक्त गरेका छन्। १८ अक्टोबरदेखि १५ नोभेम्बरसम्म हुने टी–२० विश्वकप र वर्षको अन्तिममा भारतसँग खेलिने चार टेस्ट म्याच आयोजना गर्ने आशा गरिएको हो। तर, यदि कोरोनाको असर लम्बियो भने यसले अस्ट्रेलियाली क्रिकेटलाई ठूलो झट्का लाग्नेछ। यसअघि पनि अस्ट्रेलिया र न्यूजिल्यान्डबीचको तीन वटा वान डे सिरीज रद्द भएको थियो।

आईपीएलका लागि अस्ट्रेलिया विकल्प

भारतमा २९ मार्चदेखि हुनुपर्ने इन्डियन प्रिमियर लिग ९आईपीएल० अनिश्चितकालका लागि स्थगित रहेको छ। यसैबीच रोयल च्यालेन्जर्स बेंगलोर ९आरबीसी० का प्रशिक्षकले आईपीएल अस्ट्रेलियामा गर्न प्रस्ताव राखेका छन्।

आरसीबीका मुख्य प्रशिक्षक साइमन काटिचले आईपीएल २०२० लाई भारत बाहिर खेलाउंदा कुनै समस्या नहुने बताएका छन्। उनले भने,–“आईपीएल २०२० को आयोजना लागि अस्ट्रेलिया विकल्प हुन सक्नेछ। हाम्रा प्रायः विदेशी खेलाडी अस्ट्रेलिया र साउथ अफ्रीकाका छन्। त्यसैले प्रतियोगिता गर्न समस्या हुने छैन।” यसअघि पनि सन् २०१४ मा यूएई र २००९ मा दक्षिण अफ्रीकाले आईपीएल आयोजना गरेका थिए।

आईपीएलका लागि श्रीलंकाको प्रस्ताव

कोरोनाका कारण स्थगित रहेको आईपीएल २०२० आयोजनाका लागि श्रीलंका क्रिकेट बोर्डले प्रस्ताव गरेको छ। श्रीलंका क्रिकेट बोर्डका अध्यक्ष शम्मी सिल्भाले यो प्रस्ताव राखेका हुन्। उनले भने,–“आईपीएल रद्द भएमा झन्डै ३ हजार ९ सय करोड भारतीय रुपियाँ नोक्सान हुनेछ।

यदि श्रीलंकामा आईपीएल भएमा भारतीय दर्शकलाई आवतजावतमा पनि सहज हुनेछ। यस विषयमा हामीले भारतीय क्रिकेट बोर्डसंग कुरा गरिसकेका छौं र निर्णय कुरिरहेका छौं।” तर, यता भारतीय पक्षले भने लकडाउन अवधिसम्म कुनैपनि निर्णय नलिने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्