कोरोना पराजित गर्न सहकार्यको खाँचो

0
Shares

बालकृष्ण मैनाली ।

आज विश्व स्तब्ध छ । प्रत्येक मानव अचम्म तरिकाले त्रसित हुन पुगेका छन् । त्रसित हुनु स्वाभाविक पनि हो । मनमा त्रास उत्पन्न हुने महामारीको अवस्था सिर्जना हुँदा कसैले त्रास मान्दछ भने किन त्रास मानेको भनेर प्रश्न सोधिनुको कुनै औचित्य छैन । त्रास त्रास नै हो ।

विश्व महामारीको उदाहरण यो मात्रै होइन, यो भन्दा अगाडि पनि विविध खाले भाइरसका कारण विश्वआतंक सिर्जना भएको थियो । त्यति बेला विश्व मानव यो भन्दा बढी त्रसित अवस्थामा थिए । जति त्रसित अवस्थामा भए पनि अन्ततः मानवले त्यसमा विजय हासिल गरिछाड्यो । यो मामिलामा पनि विजय हासिल गर्ने मानवले नै हो भन्ने कुरामा द्विविधा छैन । मात्र चिन्ताको विषय भनेको मानवले विजय हासिल गर्दाको अवस्थामा सम्म आइपुग्दा यो राक्षसरुपी कोरोनाको कारण कसरी कमभन्दा कम क्षति व्यहोरेर विजय हासिल गर्ने हो भन्ने विषयमा विचार पु¥याउने र त्यसमाथिको बहसको अनिवार्यता खड्किएको छ ।

डिसेम्बर महिनामा चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस संक्रमणका कारण विश्व त्रसित हुन पुगेको छ । सबभन्दा मृत्यु इटलीमा भएको समाचार सार्वजनिक भएको छ । वर्तमान अवस्थामा इटलीका सबै नागरिक घरभित्रै क्वरेन्टाइनमा छन् । यो आलेख तयार पार्दासम्म १३ हजारभन्दा बढी मानवले कोरोनाको कारण आफ्नो जीवनलाई उत्सर्ग गर्न बाध्य भएका छन् । मानवले यसमा विजय हासिल गरुन्जेल यसैको कारणले कतिले आफ्नो जीवन गुमाउनुपर्ने हो, त्यसको कुनै एकिन छैन । यो आलेखकर्ता के कुरामा स्पष्ट छ भने, हुन सक्छ यो आलेख नै यो आलेखकर्ताको अन्तिम आलेख हुन सक्छ । यसमा यो आलेखकर्ता विश्वस्त छ । तर सँगसँगै यो पनि स्पष्ट छ कि यो आलेखकर्ता यस महामारीविरुद्धको लडाइँमा आफूले जाने–बुझेसम्म र अन्तिम अवस्था आएछ भने पनि अरुको जीवन बचाउने विषयमा आफ्नो बुद्धि–विवेकले भ्याएसम्म संघर्षरत रहन्छ भन्ने कुरामा पनि त्यत्तिकै दृढताका साथ लागिपर्ने प्रयास गर्दछ ।

राक्षसी कोरोनाविरुद्धको लडाइँमा आजको दिनसम्म आइपुग्दा लाखौं आलेख, हजारौं अन्तर्वार्ता, लाखौं सत्प्रयासका कदमहरु विश्व जनमतमार्फत चालिसकिएको छ । यो प्रक्रियाले निरन्तरता पाइरहेको छ र संक्रमण नियन्त्रित नभएसम्म जनजनको लडाइँ जारी नै रहनेछ । विश्वका जनजनहरुबाट महामारीलाई नियन्त्रणमा लिने प्रयास जारी नै छ । तथापि यो आलेख तयार पार्दासम्म मानवले सफलता हासिल गरिसकेको छैन । यसमा कतै विमति छैन, कोरोना र मानवको द्वन्द्वमा कुनै पनि हालतमा मानवले विजय हासिल गर्नै पर्दछ र गर्छ पनि । हो, त्यसका लागि भने कोरोनाविरुद्धको संघर्षमा इमानदारीरुपले आ–आफ्नो स्थानबाट सक्दो भूमिका प्रत्येक जनजनले निर्वाह गर्नै पर्दछ । राज्यदेखि व्यक्तिसम्म सबैको उत्तिकै जिम्मेवारी र दायित्व सिर्जना गरिदिएको छ यो संकटले ।

कोरोनाले धनी, गरिब ओहदावाल वा पदवाल केही भन्दैन । बेलायतका स्वास्थ्यमन्त्रीदेखि अमेरिकी ह्वाइट हाउसका कर्मचारीसमेत कोरोना संक्रमणको सिकार भएका समाचारहरु सार्वजनिक भएका छन् । विशेषज्ञहरुका अनुसार बालबालिका, बिमारी व्यक्तिहरु र वृद्धवृद्धाहरु कोरोनाको उच्च जोखिममा पर्न पुगेका छन् । अझ जोखिमको प्रतिशतलाई आँकलन गर्ने हो भने बिरामी व्यक्ति र वृद्धवृद्धाभन्दा पनि स–साना बालबालिकाहरु उच्च जोखिममा पर्न पुगेका छन् । उमेर पुगेका व्यक्तिहरु जति संवेदनशील बन्न सक्छन्, स–साना बालबालिकाहरु जति गरे पनि, भने पनि संवेदनशीलताको पहुँचमा पुग्नै सक्दैनन् । किनभने ती स–साना बालबालिकाहरु न तिनीहरुलाई कोरोनाको असरबारे मतलब छ, न त त्योभन्दा भिन्नै रोगबारे तिनीहरुलाई मतलब हुन्छ । बाबुआमा तथा संरक्षकले केही क्षण कोरोनाको बारेमा भनेको वा जानकारी गराएका भरमा एकक्षण हो–हो, हुन्छ–हुन्छ भने पनि तिनीहरु तुरुन्तै ती कुरालाई अवज्ञा गरिहाल्छन् ।

वर्तमान अवस्थामा यो आलेखकर्ताकै अनुभव हो यो । उनीहरुको प्राथमिकता भनेको आपूmले भनेअनुसारको हुनुपर्ने । जुनसुकै बेला जहाँ गएर पनि खेल्न पाउनुपर्ने, खान पाउनुपर्ने लगायत आपूmले भनेअनुसार हुनुपर्ने कुरालाई नै प्राथमिकतामा राख्ने भएकोले बालबालिकाहरु उच्च प्रतिशतको जोखिममा रहेका हुन्छन् र बढीभन्दा बढी तिनीहरुलाई कसरी जोगाउने भन्ने कुरामा अभिभावकसहित राज्यको ध्यान आकर्षित हुनु आवश्यक छ ।

के कुरामा विमति छँदै छैन भने, प्राकृतिक र दैविप्रकोपमार्फत मानवीय क्षति हुन जाने कुरालाई एकक्षण अपवादको रुपमा राख्ने हो भने बाँकी समस्याहरु मानवबाटै सिर्जित हुने हुन् । त्यससँगसँगै अन्ततः सिर्जित समस्यालाई मानवले नै अन्त्य गर्ने क्षमता राख्दछ भन्ने कुरा पनि त्यत्तिकै सत्य र मूल्यवान् भनाइ हुन् । यस अर्थमा अहिलेसम्मको वस्तुस्थितिलाई अध्ययन गर्दा र विशेषज्ञहरुको भनाइलाई आधार मान्दा कोरोनाले आक्रमण गर्ने भनेको मानवलाई लागेको रुघाखोकीकै कारणलाई माध्यम बनाई एक मानवबाट अर्को मानवमा प्रहार हुन जानु हो भन्ने निष्कर्षमा पुग्न सकिन्छ । वास्तवमा राक्षसरुपी कोरोनाविरुद्ध तत्काल जुध्न र यसको नियन्त्रणको लागि आवश्यक मूल स्रोत भनेका मानव नै हुन् । विश्वका विभिन्न राष्ट्रहरु कोरोनाविरुद्धको खोप य अन्य औषधि वा भ्याक्सिन तयारीमा जुट्दै गरेको समाचार पनि बाहिरिएका छन् । आवश्यक औषधि पत्ता लगाई सकेसम्म चाँडो उत्पादन गरी संसारमा ल्याउने विषयको सुखद विषयको समाचार बने तापनि कोरोनाले आक्रमण गर्नेबित्तिकै त्यसको विरुद्ध प्रहार गर्ने शक्ति उपस्थित नभएसम्म यसको नियन्त्रण गर्नु नै हुन सक्ने सम्भावित मानव क्षतिको न्यूनीकरणको मूल आधार हो । हरेक मानवको इमानदारी भूमिका कोरोना नियन्त्रणको अचुक अस्त्र हो ।

मानवको जन्मपश्चात् मृत्यु अवश्यम्भावी छ । सत्यको अमुक पाटो हो यो । तथापि मानव सकेसम्म लामु आयु बाँच्न चाहन्छ । यो पनि सत्यको अर्को पाटो हो । यस अर्थमा अहिले देखिएको महामारीविरुद्ध सम्पूर्ण मानव नै इमानदारीरुपमा एकजुट हुनुको कुनै विकल्प छैन । मानवको विकास चरणदेखि वर्तमानसम्म आइपुग्दा मानवका तीन सोचहरु सतहमा मुख्यरुपमा देखा परेका छन् । प्रतिशतको आधारमा सबभन्दा उच्च प्रतिशतमा चाहिँ म र मेरो नै रहेको छ भने सबभन्दा न्यून प्रतिशत अरु वा अर्को रहेको छ । वर्तमान महामारीको समयमा पनि कतिपय अवस्थामा म र मेरो लगायत सीमित आर्थिक प्रलोभनले प्रभावित पार्ने कार्यले प्राथमिकता पायो भने त्यसको नतिजा सुखमय हुन सक्दैन । विश्वमा आइपरेको यस्तो संकट जसमा हाम्रो देश पनि संकटबाट अछूतो छैन ।

आजको दिनसम्म कुनै महामारीको खबर सुन्नुपरेको छैन । पशुपतिनाथको कृपा नै मान्नुपर्दछ र यो कृपा अनन्त कालसम्म रहिरहोस् भन्ने धार्मिक जनजनको भावनाले मूर्तरुप लेओस् भन्ने जनजनको चाहना स्वागतयोग्य छ । दुर्भाग्य नै मान्नुपर्दछ यस्तो संकटको अवस्थामा पनि मानवीय मूल्य र मान्यतलाई तिलाञ्जलि दिएर सामान्य आर्थिक प्रलोभनको लागि उपभोग्य वस्तुहरुको कृत्रिम अभावलगायत सामान्य रुघाखोकी, धूलो र धुवाँबाट सुरक्षित रहने मास्क लाखौंलाखको संख्यामा लुकाइएको अवस्थामा बरामद हुनु भनेको मानवताको लागि यो भन्दा लज्जाको विषय के हुन सक्ला ? महामारीको रुपमा पैmलिरहेको कोरोना भाइरसले यस्ता खालका कृत्रिम अभाव सिर्जना गर्नेलाई मौका परेका बखत आक्रमण गर्दै गर्दैन, त्यसलाई मात्र छुट दिन्छ त ? भन्ने जनजनले उठाएको आवाज सराहानीय लगायत सोह्रैआना सत्यतामा आधारित छ । वास्तवमै भन्ने हो जुनसुकै नाम वा बहानामा मानवविरुद्ध अपराधी प्रवृत्ति अंगाल्ने आफ्नो पेसा वा व्यवसाय नै भए तापनि वर्तमान महामारीसँग जुध्न त्यस्तो पेसालाई आफैले निरुत्साहित गरी मानव सेवामा जुट्न इमानदारीपूर्वक लागिपर्नुपर्दछ । समयमै यी यस्ता व्यवसायीहरुलाई सद्बुद्धि प्राप्त होस् भन्ने कामना गर्नेदेखि बाहेक वर्तमानमा विकल्प छैन । काला बजारीविरुद्ध लागिपर्ने राज्यको प्रतिबद्धता स्वागतयोग्य छ ।

हाल विश्व मानव दुई अवस्थामा मात्र बाँचिरहेका छन् । पहिलो– कोरोना संक्रमणरहित र दोस्रो– कोरोना संक्रमणसहितको अवस्थामा बाँचिरहेका छन् । यो भयावह अवस्थाबाट मानवले विजय हासिल गर्न दुवै अवस्थाका मानवहरुको इमानदारिता र सहयोग अपरिहार्यता विश्वमै भएको छ । एक मानवले मात्र यो मामिलामा असहयोग गर्ने हो भने यसले निम्त्याउने भयावह स्थितिको आँकलन गर्न हम्मे–हम्मे पर्दछ । यस मानेमा प्रत्येक व्यक्तिले मानवको निमित्त वर्तमानमा मेरो भूमिका भनेर सोच्नु र सहयोग गर्नु अनिवार्य भएको छ ।

कतिपय मुलुकमा संक्रमित मानवहरुले आफू संक्रमित भएको कुरा लुकाएर अन्य संक्रमित नभएका मानवहरुलाई समस्यामा पारिदिएको समाचारहरु सार्वजनिक भएका छन् । जसले गर्दा जो–जो मानवहरु संक्रमितसँग सम्बन्ध र सम्पर्कमा आए उनीहरु त्रसित अवस्थामा बाँचिरहन विवश भएका छन् । यस अर्थमा यदि संक्रमित जोसुकै भए पनि आफू संक्रमित भएको कुरा नलुकाउनु र त्यसलाई सार्वजनिक गरेर प्राप्त उपचारमा लाग्नु भनेको अन्य मानवलाई बाँच्न योगदान दिएसरह हुनेछ । सँगसँगै संक्रमित नभएकाहरुले पनि संक्रमित भएका व्यक्तिको पहिचान भैसकेपछि संक्रमितलाई आफ्नो तर्पmबाट हुने हरसहयोग गर्न आनाकानी गर्नुहुँदैन । आफ्ना तर्पmबाट हुन सक्ने सहयोग प्रदान गर्न किञ्चित पनि हिच्किचाउनुहुँदैन । यदि एक–आपसमा यस किसिमका सहयोग आदानप्रदान हुन सकेमा हाल देखिइरहेका महामारी नियन्त्रणको लागि छोटो समयमै कोसेढुंगा साबित हुनेछ ।

(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ ।)