भीमसेन मन्दिरमा चोरी



डोटी, (नेस)

सिलगढीमा रहेको वर्षौं पुरानो भीमसेन मन्दिरमा चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय डोटी प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले दिनुभएको जानकारी अनुसार दिपायल सिलगढी नगरपालिका वडा नं ६ मा रहेको उक्त मन्दिरको ढोका फोडेर चाँदीका छत्रीहरु चोरी भएको जानकारी दिनुभएको छ ।

 

उहाँका अनुसार उक्त मन्दिरबाट कम्तिमा पनि ५० तोलाको एक वटा र कम्तिमा पनि १० तोला बराबरका तीनवटा गरी ८० तोला गरी लाखौँ मुल्य पर्ने चारवटा चाँदीका छत्री चोरी भएका छन् ।

 

भक्तजनहरुले मन्दिरमा चढाएका छत्री चोरी भएको स्थानीय गोविन्द श्रेष्ठले बताउनुभयो । “भक्तजनले चढाएका छत्री चोरी भएका छन्, मन्दिरका बारेमा थाहा पाएको व्यक्तिले चोरी गरेको हुनसक्छ ।” –उहाँले भन्नुभयो ।

 

फलामको रड प्रयोग गरी मन्दिरको मूल ढोका र मन्दिरसँगैको सभा हलको ताला चोरी गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घटनाबारे आवस्य अनुसन्धान तथा सोधपुछ भैरहेको जिल्ला प्रहरीले मुद्दाफाँटका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताउनुभयो ।

 

मन्दिरमा कति बेला चोरी भयो भन्ने यकिन खवर नभए पनि शनिबार राति चोरी भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्