भिडियोमा फर्के नरेश



सञ्चारकर्मी, उद्घोषक तथा गीतकार नरेश भट्टराईद्वारा अभिनित एक गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
लामो समयदेखि लन्डनमा रहेर पनि नेपाली गीतसंगीतमा सक्रिय रहँदै आएका गायक सपनकुमार राईको नयाँ गीत बाटोको काँडा राजधानीमा आयोजित एक कार्यक्रमका बीच म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो।

सार्वजनिक गीतमा शब्द तथा संगीत ताराप्रकाश लिम्बुको रहेको छ भने साज शाक्यको संगीत संयोजन रहेको आधुनिक मेलोडियस गीतको म्युजिक भिडियोमा सञ्चारकर्मी नरेश भट्टराईका साथ रेबिका गुरुङलाई फिचरिङ गरिएको छ।

झन्डै आठ वर्षपछि भिडियोमा देखिएका नरेशले गीतअनुसार आफू सुहाउँदो भएकाले अभिनय गरेको बताए। ‘आफूलाई तयार गर्ने कोसिस गर्दै अभिनय गरें। अब आफू सुहाउँदो गीतमा अभिनयलाई निरन्तरता दिन्छु भन्ने सोच बनाएको छु।’ –नरेशले भने। झन्डै डेढ दर्जन गीतको म्युजिक भिडियोमा अभिनय गरेका भट्टराई पछिल्लो समय विज्ञापन र टिभी कार्यक्रमसँगै स्टेज शोमा व्यस्त छन्।

नरेशसँग काम गर्दा आफूलाई सहजता भएको रेबिकाले बताइन्। भिडियोका निर्देशक मिलन चाम्सले आफूले रुचाएका तीन व्यक्तिसँग काम गर्ने अवसर पाएकामा खुसी लागेको बताए। ‘मेरो मन पर्ने मान्छेसँग काम गरें।

तर मैले योग्य कलाकार नै छानेको हुँ।’ –मिलनले भने। भिडियो रामकुमार केसीले छायांकन गरेका छन् भने ध्रुवराज पराजुली (प्रज्वलित)ले सम्पादन गरेका छन्। भिडियो ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

 

प्रतिक्रिया दिनुहोस्