कृषकलाई गाउँपालिकाको अनुदान



पर्वत, (नेस)

पर्वतको बिहादी गाउँपालिकाले उन्नत जातको गाईभैंसी पालनलाई प्रोत्साहन गर्ने कार्यक्रम शुरु गरेको छ। गाउँपालिकाले उन्नत गाईभैंसी किन्ने किसानलाई प्रतिपशु २० हजार अनुदान दिने कार्यक्रम ल्याएको हो।

किसानलाई दिगो आम्दानीतर्फ आकर्षित गर्ने गाउँपालिकाको योजनाअनुसार किसानलाई पशुपालनमा अनुदान दिन थालिएको गाउँपालिकाले जनाएको छ। ‘पशुपालनमा किसानको ध्यान आकर्षित गर्न अनुदान दिने कार्यक्रम ल्याएका हौं’, गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले भन्नुभयो– ‘अनुदान दिन किसानको निवेदन संकलन गर्दै छौं।’

बढ्दो बसाइँसराइले गाउँ रित्तिँदै

अधिकांश युवा गाउँमा भेटिन छाडेका छन्। खास गरी युवा विदेश पलायन भइरहेका छन्। स्थानीयस्तरमा रोजगारीका कुनै सम्भावना नभएकाले पशुपालनलाई व्यवसायिक बनाउन सके गाउँ छोडेका युवा फर्किने अपेक्षासहित किसानलाई पशुपालनमा आकर्षित गर्न थालिएको वडा नम्बर ३ का अध्यक्ष रणबहादुर आलेले बताउनुभयो।

उहाँका अनुसार दूध उत्पादन बढाउने र गाउँ–गाउँमा संकलन केन्द्र बनाउने कार्यक्रम रहेको छ।
दूध संकलन केन्द्र स्थापना गर्न चाहने सहकारी र फर्मलाई ७० प्रतिशत अनुदान दिने गाउँपालिकाको योजना रहेको उनले सुनाए। पशुपालन र कृषिमा विहादी गाउँपालिका राम्रो र सम्भावना रहेको क्षेत्र हो।

 

 

प्रतिक्रिया दिनुहोस्