कोरोनाको त्रास: मनास्लु आउने पर्यटक ह्वात्तै घटे



नेपाल समाचारपत्र, गोरखा
उत्तरी गोरखाको मनास्लु पदमार्गमा हाल पर्यटक आउने मुख्य सिजन हो। हिउँ पग्लँदै जाने थालेपछि यो सिजनमा अब पर्यटक दिनानुदिन बढ्दो क्रममा देखिनुपथ्र्याे। तर, हाल फाट्टफुट्ट बेसिजनमा जस्तो पर्यटक मात्रै जाने गरेका छन्। पर्यटक आउजाउ ह्वात्तै घटेपछि होटल व्यापार, व्यवसाय र भरियाहरूको रोजीरोटीमा समेत असर पुगेको छ।
विश्वरभर फैलिएको कोरोना भाइरसको असर र त्रासका कारण गोरखाको मनास्लु पदमार्ग सुनसान बनेको हो। सन् २०१९ को मार्च महिनामा ९ सय ५९ पर्यटकले उत्तरी गोरखाको मनास्लु क्षेत्रमा पदयात्रा गरेका थिए।
यो वर्षको मार्च महिनाको पहिलो हप्ता मनास्लु क्षेत्र जाने विदेशी पर्यटकको संख्या २० मात्रै छ। गत वर्ष फेब्रुअरी महिनामा ९८ जनाले मनास्लु घुमेका थिए भने यो वर्ष उक्त महिनामा ४८ जना मात्रै विदेशी मनास्लु पुगेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले जनाएको छ।
‘शहरहरूमा जस्तो सुनसान भएको छैन, पर्यटकको आउजाउ चलिरहेको छ।’ –एमक्याम्प गोरखाका प्रमुख नरेन्द्र लामाले भन्नुभयो। शहर केन्द्रित भएर बसेका पर्यटक पनि ग्रामीण भेगतिर जाने र स्वच्छ हावापानी भएकाले पदमार्गतिर जाने गरेको बताइन्छ।
मनास्लु पदमार्गमा फाट्टफुट्ट मात्रै विदेशीले पर्यटन बोर्डबाट अनुमति लिएको बोर्डले जनाएको छ। ‘नेपाल भित्रिएका पर्यटकले पदमार्गलाई सुरक्षित सम्झिएर आउँदा हुन्छ’, एमक्याप गोरखाका प्रमुख लामाले भने– ‘विदेशबाट आउने जाने क्रम कम भएकाले प्रभाव पर्नु स्वाभाविक हो, तर नेपालमा भने प्रभाव नदेखिएकाले यहाँ भएका पर्यटक ढुक्कसँग पदयात्रा गरेको देखिन्छ।’
मनास्लु पदमार्गमा रहेका होटलको व्यापार घटेको छ। होटल सिङ्ला एन्ड गेस्ट हाउस बिहीफेदीका विष्णु गुरुङ भन्छन्– ‘रोगको त्रासले टुरिस्ट आएका छैनन्, फाट्टफुट्ट मात्रै देखिन्छन्।’ होटल व्यवसायीको व्यापार चलेको छैन। पर्यटक घटेपछि व्यवसायी चिन्तित बनेका छन्।
सिजनको ६ महिना व्यापार गरेको वर्षभरि गुजारा चलाउनेहरूलाई समस्या भएको छ। पोखराको अन्नपूर्णपछिको पदमार्गको रूपमा मनास्लु पदमार्गलाई लिइन्छ।
युरोपियन मुलुकका पर्यटक यहाँको भौगोलिक धरातल, हिमशृंखला, हेर्न र लार्केपासका लागि आउने गर्छन्। व्यक्तिगतभन्दा पनि ग्रुपमा ट्रेकिङ आउने ठाउँको रूपमा मनास्लु पदमार्गलाई पर्यटकले लिन्छन्। फ्रान्स, जर्मन, अमेरिका र स्वीजरल्यान्डका पर्यटक आउने गर्थे। गत वर्ष ७ हजार ५ सय ११ जना विदेशी पर्यटक मनास्लु पदमार्ग पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्