स्वयम्सेवक शिक्षक खटाउँदै सरकार



काठमाडौं, (नेस)
शिक्षण स्वयम्सेवकका लागि १२ हजारभन्दा बढीले आवेदन दिएका छन्। शिक्षक अपुग भएको अङग्रेजी, गणित, विज्ञान र प्राविधिक धारतर्फ इन्जिनियरिङ् विषयका लागि स्वयंसेवक खटाउन लागिएको हो।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अनलाइनमार्फत् आवेदन आह्वान गरेको थियो। केन्द्रका महानिर्देशक डा. तुल्सीप्रसाद थपलियाले हालसम्म करिब १२ हजारले आवेदन दिएको जानकारी दिनुभयो।
उहाँका अनुसार आज मंगलबार यकिन तथ्याङ्क आउने जानकारी गराउनुभयो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा शिक्षक अभावलाई पूर्ति गर्न स्वयम्सेवक शिक्षक माग गरेको थियो।
शिक्षक अभाव भएका विद्यालयमा आगामी नयाँ शैक्षिक सत्र २०७७ को वैशाखदेखि चैत महिनासम्मका लागि शिक्षण स्वयंसेवकका रुपमा १ हजार ५ सयलाई खटाउने योजनाअन्तर्गत स्वयम्सेवक शिक्षक माग गरिएको हो।
जुनसुकै विषय पढेका स्नातक वा स्नातकोत्तर उत्तीर्ण भएका र १८ देखि ४० वर्ष उमेर समूहकाले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। सरकारले ६ सय ४८ पालिकासँग भएको सम्झौताको आधारमा शिक्षक छनोट गर्ने केन्द्रले जनाएको छ।
मन्त्रालयले तयार गरेको कार्यविधिअनुसार शिक्षक माग गरिएको हो। स्वयम्सेवाका लागि क, ख र ग वर्ग कायम गरिएको छ। स्नातक तह उत्तीर्णलाई सुगममा खटिए मासिक २४ हजार रुपियाँ उपलब्ध गराइनेछ भने दुर्गममा जानेलाई मासिक ३० हजार रुपियाँ उपलब्ध गराइनेछ।
त्यस्तै स्नातकोत्तर तह पूरा गरेकाले सुगममा मासिक २६ हजार रुपियाँ र दुर्गममा ३२ हजार रुपियाँ पाउनेछन्।

 

प्रतिक्रिया दिनुहोस्