मच्छिन्द्रनाथको पुनर्निर्माण अघि बढ्दै



ललितपुर, (नेस)

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुरातत्व विभागद्वारा ललितपुर महानगरपालिकामा पठाएको पत्र प्राप्त भएको भन्दै महानगरपालिकाले पुनर्निर्माण अब अगाडि बढाउने बताएको छ।

प्राधिकरणले लेखेको पत्र महानगरपालिका आउन ढिलाइ भएसँगै समिति गठन गरी काम अघि बढाउन अन्योल परेको नगरप्रमुख चिरीबाबु महर्जनले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘केही दिनअघि मात्र हामीले प्राधिकरणबाट लेखिएको समिति गठन गर्ने पत्र हात पारेका छँंै, पत्रमा वडा नं २२ का वडाध्यक्ष बोलाएर वडा समितिमार्फत् रातो मच्छिन्द्रनाथ पुनर्निर्माणका लागि समिति गठन गर्नु भनेको छ, गत शनिबार मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माणका लागि पुरातत्वविद्सहित यस विषयको अध्ययन तथा अवलोकन गर्न हामी गयौं।

आउँदो शनिबार बुङ्मती गएर मन्दिर पुनर्निर्माणको विषयमा छलफल गरी काम अघि बढाउने योजना तयार गरिरहेको मेयर महर्जनले जानकारी दिनुभयो।
सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम मन्दिर पुनर्निर्माणका लागि ठेक्कापट्टा गर्दा चाहेको गुणस्तर पाउन सकिँदैन। मन्दिरको उचित गुणस्तर कायम राख्न पाटन दरबार संग्रहालय निर्माण गर्ने समूहको प्रमुख, प्राधिकरण तथा पुरातत्व विभागका प्रतिनिधिलगायत ३२ पानेजु संघ र स्थानीयवासी राखेर छलफल गर्ने निर्णयमा महानगरपालिका पुगिसकेको महर्जनले जानकारी दिनुभयो।

सो मन्दिर पुनःनिर्माणका लागि प्राधिकरणले सम्पूर्ण आर्थिक सहयोग गर्ने भएको छ। विसं. २०७२ को भूकम्प गएको लगभग ५ वर्षपछि मच्छिन्द्रनाथ मन्दिरले पुनर्निर्माणको गति लिने भएको छ।
मन्दिर पुनर्निर्माणका लागि तीन वर्ष पहिले जिम्मा लिएको श्रीलंका सरकारले विगतका ठेकेदार कम्पनीसँग असमझदारी भएपछि गत डिसेम्बरदेखि हात झिकेको हुँदा यो अन्योलमा परेको थियो।

मन्दिर पुनर्निर्माणमा पार्टीगत हिसाबले नभई समाजमा वास्तविक योगदान गर्न चाहने व्यक्तिलाई छनोट गरी समिति गठन गरिने वडाध्यक्ष अम्बिरराज शाक्यले बताउनुभयो। मन्दिर पुनर्निर्माणमा कमाइखाने भाँडो बनाउने गरी काम गर्ने जिम्मा कसैलाई पनि दिइने छैन, उहाँले भन्नुभयो। बुङ्मतीको मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माणमा अब ठेक्कापट्टा हुने छैन।

रातो मच्छिन्द्रनाथ पुनर्निर्माणमा परेको सहयोग गर्ने विभागका प्रमुख इन्जिनियर सम्पत घिमिरेले बताउनुभयो। ‘हामीले मन्दिर पुनर्निर्माणका लागि रु ३ करोड लाग्ने अनुमान गरिसकेका छाैँ’ –घिमिरेले भन्नुभयो।

काम अघि बढाइएको एकदेखि डेढ वर्र्र्र्षिभत्र पूरै समाप्त गर्ने योजनामा विभाग रहेको उहाँले जानकारी दिनुभयो। वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्रालाई उपत्यकाको लामो जात्राका रूपमा मनाउने गरिन्छ।

 

प्रतिक्रिया दिनुहोस्