होलीका लागि ट्राफिक प्रहरीको विशेष अभियान



काठमाडौं, (नेस)
हानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई दुर्घटनारहित सुरक्षित र मर्यादित बनाउने उद्देश्यका साथ काठमाडौं उपत्यकामा होली विशेष सुरक्षा योजना लागू गरेको छ। राजधानीको अधिकांश चोक, गल्ली तथा सडकमा सुरक्षा जाँच कडा पारिने भएको छ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले मादक पदार्थ सेवन गरी जथाभावी सवारी चलाउने, मोटरसाइकलमा तीन जना राख्ने, तीव्र गतिमा चलाउने, जिकज्याक वा लापरबाहीका साथ सवारी चलाउने, हेल्मेट नलगाई मोसा तथा स्कुटर चलाउने र ठूलो आवाज निकालेर वा मोडिफाई गरी सवारी साधन चलाउनेलाई कारबाही गर्न विशेष जाँचको व्यवस्था मिलाइएको जानकारी दिनुभयो।
त्यस्तै गरी काठमाडौं उपत्यकाको विभिन्न चोकहरूमा ‘सवारी तीव्र गतिमा नहाकौं र मापसे गरी सवारी नचलाऔं’ भन्ने लेखिएका प्लेकार्ड बोकेका ट्राफिक प्रहरीसमेत परिचालन हुनेछन्।
महाशाखाका प्रमुख ढकालले उपत्यकाका ७६ स्थानमा चेकिङ प्वाइन्ट र १४ वटा मोबाइल भ्यानहरूले गस्ती तथा मोबाइल चेकिङ गरिने बताउनुभयो। उहाँले भन्नुभयो– ‘मुख्यतया उपत्यकामा दुर्घटना कम गर्ने उद्देश्यका साथ नियमितबाहेक थप ट्राफिक प्रहरीहरू तथा मोटरसाइकलमा समेत ट्राफिक प्रहरीहरू गरी जम्मा ५ सय ६६ जना ट्राफिक प्रहरी परिचालन गरिनेछ।’
हेलमेट नलगाई दुईपांग्रे सवारी नचलाउन, ओभरलोड वा मोटरसाइकलमा दुई जनाभन्दा बढी मानिस राखेर यात्रा नगर्न, ठूलो हर्न नबजाउन, ठूलो आवाज निकालेर सवारी नचलाउन, जिकज्याक गरी नचलाउन, मोटरसाइकललाई मोडिफाई गरी सवारी साधन नचलाउनका लागि महाशाखाले विशेष अनुरोधसमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्