कोरोनाबाट जोगिन अभियान



भद्रपुर (नेस)
कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाका सबै निकायलाई विभिन्न अभियान सञ्चालन गर्दै हाई अलटमा रहन निर्देशन जारी गरेको छ।
छिमेकी राष्ट्र चीनपछि अहिले भारतमा समेत कोरोना भाइरसका संक्रमित बिरामी देखा परेपछि प्रशासन कार्यालय झापाले जिल्लाका सीमा नाका, विमानस्थल, भीडभाड हुने स्थानलाई लक्षित गर्दै सबै निकायलाई हाई अलटमा रहन निर्देशन जारी गरेको हो। कोरोना भाइरसबाट जिल्लावासीलाई बचाउन प्रशासन कार्यालयका कर्मचारीसहित सबै सरकारी निकाय, जनस्वास्थ्य कार्यालय, स्वास्थ्यकर्मी, अस्पताल, रेडक्रस, प्रहरीलाई अलटमा रहन निर्देशन जारी गरिसकेको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिनुभयो। भद्रपुरस्थित चन्द्रगढी नागरिक उड्डयन कार्यालय परिसर, विर्तामोडका सबै अस्पताल, काँकडभिट्टा, भद्रपुरलगायतका स्थानमा कोरोना भाइरस परामर्श तथा परीक्षण कक्ष स्थापना गरिएको छ। स्वास्थ्यकर्मीलाई चाहिने आवश्यक स्वास्थ्य सामग्रीसहित ‘थर्मल गन’ पनि दिइएको छ। राना मगरले सरकारी कार्यालयबाट सेवा प्रदान गर्ने कर्मचारीले अनिवार्य मुखमा मास्क लगाएर सेवा प्रदान गर्न निर्देशन दिनुभएको छ।
भारतसँग जोडिएको झापा जिल्ला १ सय ४४ किलोमिटर खुला सीमा रहेकाले भारतबाट कोरोना भित्रिने उच्च जोखिम छ।
समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरको अध्यक्षतामा बसेको बैठकले पन्ध्रवटा पालिका, राजनीतिक दल, गैरसहकारी महासङ्घ, प्रहरी, प्रशासन, सञ्चारकर्मी, स्वाथ्यकर्मीहरुको राय सुझावका आधारमा सङ्क्रमणको पूर्वतयारीका बारेमा निर्णय गरिएको छ।

सिक्किम र भुटान प्रवेशमा रोक
कोरोना भाइरस विश्वभर महामारीका रूपमा फैलिरहेको भन्दै यसबाट बच्नलाई भारतको सिक्किम र भुटानमा विदेशी नागरिकलाई प्रवेशमा रोक लगाएको छ।
कोरोनाबाट आफ्नो राज्यको नागरिकलाई बचाउन सिक्किम सरकारले नै सबै इनरलाइन परमिट रद्द गरेसँगै विदेशी नागरिकको प्रवेशमा पूर्णरूपमा रोक लागेको छ। त्यस्तै भुटानमा पनि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न भुटान सरकारले दुई हप्ताका लागि विदेशी नागरिक प्रवेशमा रोक लगाएको छ।

 

प्रतिक्रिया दिनुहोस्