हेल्प डेक्स स्थापना



गुल्मी, (नेस)
विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसबाट हुन सक्ने महामारीलाई मध्यनजर राखेर गुल्मीका स्थानीय तहमा हेल्प डेक्स स्थापना र आवश्यक सूचना र उपचारको व्यवस्थापन गरिने भएको छ।
जिल्ला सदरमुकाम तम्घासमा सरोकारवालाको सहभागितामा गरिएको छलफलमा स्वास्थ्य कार्यालय तथा जिल्लास्थित सम्पूर्ण पालिकाले आवश्यक औषधि व्यवस्थापन र सचेतनामूलक कार्यक्रम गर्ने निर्णय गरिएको छ। त्यस्तै, जिल्ला अस्पताल गुल्मीले औषधि व्यवस्थापनलगायत आइसोलेसन वार्डको व्यवस्था गर्ने निर्णय गरिएको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले बताउनुभयो।
जिल्ला प्रशासन कार्यालय गुल्मी तथा सम्पूर्ण सुरक्षा निकायले सुरक्षाको व्यवस्थापन गर्ने निर्णय भएको छ। त्यस्तै, रुरु क्षेत्र गाउँपालिको संयोजनमा रिडी, रेसुंगा नगरपालिकाको संयोजनामा नेटा, मदाने गाउँपालिकाको संयोजनमा पुर्कोट, मुसिकोट नगरपालिकाको संयोजनामा वामी, चन्द्रकोट गाउँपालिकाको संयोजनमा शान्तिपुरमा हेल्प डेक्स स्थापना गरिने भएको छ। छिमेकी मुलुक भारतबाट सीधै गुल्मी आउने सवारीसाधनका यात्रुलाई रिडीको हेल्प ठेक्समा अनिवार्य रूपमा चेकजाँच गरिने निर्णय भएको जनाइएको छ।
होलीमा सार्वजनिक कार्यक्रममा प्रतिबन्ध
जिल्ला प्रशासन कार्यालय गुल्मीले होली पर्वमा सार्वजनिक कार्यक्रम नगर्न अनुरोध गरेको छ। प्रशासनले एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको संक्रमण जोखिम बढ्ने भएकाले होलीमा सार्वजनिक कार्यक्रमको आयोजना नगर्न भनेको छ।
प्रशासनले नेपाल सरकार स्वास्थ्य जनसंख्या मन्त्रालयले भीडभाड हुने स्थानमा कोरोना भाइरसको संक्रमणको जोखिम बढ्ने भन्दै धेरै मानिस उपस्थित हुने सभा, सम्मेलन र शैक्षिक संस्थाको वार्षिक उत्सवजस्ता कार्यक्रम नगर्न आग्रह गरेको जारी सार्वजनिक सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्