आफ्नै घरमा झुन्डिएर आत्महत्या



नेपाल समाचारपत्र, सप्तरी ।
एसईई परीक्षाको तयारीमा रहेकी एक किशोरीले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेकी छन्।
राजविराज–६ निवासी १६ वर्षीया सन्ध्या यादव शनिबार राति आफ्नै घरमा सलको पासो लगाई झुन्डिएर आत्महत्या गरेकी हुन्। यही चैत्र ६ देखि हुने एसईई परीक्षाको तयारीमा रहेकी यादव घरायसी विवादमा आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ।
छोरीसँगै खाना खाएर नजिकैको पसलमा गई केही बेरपछि फर्केकी आमाले झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतकको शवको आइतबार स्थानीय गजेन्द्रनारायण सिंह अस्पतालमा पोस्टमार्टम गरी आफन्तलाई बुझाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यमलाल बन्जाडेले बताउनुभयो।
यसैबीच आत्महत्याका लागि तयार भएका एक युवकलाई जोगाउन प्रहरी चौकीमा राखिएकोमा उनी त्यहीँबाट हतकडीसहित फरार भएका हुन्। बोदेबर्साइन नगरपालिका–८ निवासी ३० वर्षीय महेश यादव प्रहरी चौकी काचनबाट पिसाब फेर्ने बहानामा शनिबार मध्यरातमा हतकडीसहित फरार भएका हुन्। शनिबार राति १० बजेतिर अत्यधिक मदिरा सेवन गरी घर आएका यादवको पत्नीसित सोही विषयमा विवाद भएको थियो।
त्यस क्रममा आवेशमा आई उनी घरमै पासो लगाई आत्महत्याको प्रयास गरेका थिए। सोबारे छरछिमेकले खबर गरेपछि पुगेको प्रहरीले सुरक्षाका लागि उनलाई प्रहरी चौकीको हिरासत कक्षमा राखेका थिए। राति २ बजेतिर उनले पिसाब लाग्यो भन्दै गुहारेपछि प्रहरीले हिरासत कक्ष खोलेर उनलाई नजिकै पेसाब गर्न जान दिएका थिए।
तर, अँध्यारोको फाइदा उठाउँदै उनी भागेका हुन्। आइतबार बिहान उनको घरमा पनि खोज तलास गरिएको र फेला नपरेको प्रहरीले जनाएको छ।  घटनाबारे अनुसन्धान भइरहेको तथा हिरासतबाट फरार भएका यादवको व्यापक रूपमा खोजतलास कार्य शुरू गरिएको प्रहरी निरीक्षक यमलाल बन्जाडेले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्