पत्रकार वीरेन्द्र हत्याका मुख्य योजनाकार १२ वर्षपछि पक्राउ



गोकुल घोरसाइने, बारा । 
बाराका पत्रकार वीरेन्द्र साहको हत्याको मुख्य योजनाकारमध्येका एक कुन्दन फौजदारलाई प्रहरीले पक्राउ गरेको छ। साहको हत्या अभियोगमा १२ वर्षदेखि फरार बारागढी गाउँपालिका–६ बस्ने ५१ वर्षीय फौजदारलाई उनकै घरबाट शनिबार राती बारा प्रहरीले पक्राउ गरेको हो।
घटनापछि गाउँघरमा खुलेआम घुम्दै आएका फौजदार पछिल्लो समय लुकिछिपी बस्दै आएका थिए। फौजदार घरमा आएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय कलैयाबाट गएको टोलीले राती २ बजे घर घेरा हाली पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताउनुभयो।
पक्राउ गर्ने क्रममा स्थानीयले अवरोध गरेपछि प्रहरीले ४ राउन्ड हवाई फायर गर्नुपरेको प्रहरी उपरीक्षक पंगेनीले जानकारी दिनुभयो। प्रहरीले आइतबार दिउँसो जिप्रकामा पत्रकार सम्मेलनमार्फत फौजदारलाई सार्वजनिक गरेको थियो। हत्या प्रकरणमा फौजदारको मुद्दा मुल्तवीमा रहेकाले उनलाई अदालतमा बुझाइने एसपी पंगेनीले बताउनुभयो।
पत्रकार साह हत्यामा प्रहरीले मुख्य दोषी ठानेको जितपुरसिमरा उपमहानगरपालिका–२० इनर्वासिराका लालबहादुर चौधरी धामी र आदर्शकोतवालका ईनर्वा मझरियाका अर्का हरेराम पटेल अझै फरार छन्।
यसअघि सोही घटनामा संलग्न रहेका जितपुरसिमरा उपमहानगरपालिका–२० बसडिल्वाका मेनेजर गिरी ११ वर्ष जेल सजाय भुक्तान गरी गतवर्ष छुटेका थिए भने रामएकवाल सहनी १० वर्षदेखि वीरगन्ज कारागारमा छन्।
विस्तृत शान्ति सम्झौतापछि फौजदारसहित तत्कालीन माओवादी पार्टीका ५ कार्यकर्ताले एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार साहको अपहरणपछि २०६४ असोज १८ हत्या गरेका थिए। घर बनाउने काठ लिन पुगेका साहलाई जिल्लाको करैयामाई गाउँपालिका पिपरा बजारबाट अपहरणपछि टांगियाबस्तीको जंगलमा गोली हानी हत्या गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्