कोरोना भाइरस रोक्न बर्दियामा उच्च सतर्कता



बर्दिया, (नेस)
कोरोना भाइरसको सक्रमण रोकथामका लागि बर्दिया जिल्लामा उच्च सतर्कता अपनाइएको छ।
चीनको उहान शहरदेखि विश्वभर फैलिँदै गएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालय बर्दियाले जिल्लाका सबै निकायलाई उच्च सतर्कता अपनाउन र आमनागरिकहरूमा पनि रोकथामका उपायहरू अवलम्बन गर्न आह्वान गरेको छ।
जिल्लाको भारतीय सीमाबाट आउने यात्रुहरूलाई निगरानी गर्नका लागि बढैयाताल गाउँपालिकाको फुटाहा, गुलरिया नगरपालिकाको सुरजपुर, मधुवन नगरपालिकाको ताराताल, र राजापुर नगरपालिकाको खैरीचन्दनपुरमा प्रहरी चौकीसँगै स्वास्थ्य सहायता कक्ष स्थापना गरी निगरानी बढाउने कार्यको स्थानीय तहबाट व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रेमलाल लामिछानेले जानकारी गराउनुभयो।
उक्त सहायता कक्षमा एकजना स्वास्थ्यकर्मी र दुईजना प्रहरी कर्मचारी रहने व्यवस्था गरिएको छ। साथै, कोरोना भाइरसका शंकास्पद बिमारीहरू फेला परेमा उपचारका लागि बर्दिया अस्पतालमा आइसोलेसन कक्षको स्थापना गरिएको छ। हालका लागि दुई बेडको व्यवस्था गरिएको र आवश्यकताअनुसार थप गर्न सकिने कुरा सो अस्पतालका सुपरिटेन्डन डा. सुवास पाण्डेले जानकारी गराउनुभयो।
कोरोना भाइरसबाट जिल्लावासीलाई बचाउन सुरक्षा निकाय, सबै सरकारी कार्यालय, स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, अस्पताल, रेडक्रसलगायतलाई सतर्क भइरहन सूचना जारी गरिएको कुरा प्रमुख जिल्ला अधिकारी लामिछानेले बताउनुभयो।
त्यसैगरी, जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै होलीमा पानी तथा फोहरा नखेल्न, नखेलाउन, ठूलो संख्यामा मानिसको जमघट नगराउन, भोजभतेर, जात्रा, महोत्सवको आयोजना नगर्न र ठूलो संख्यामा सभासम्मेलन नगर्न अनुरोध गरेको छ। त्यस्तै, रुघाखोकी, ज्वरो, टाउको दुख्ने, घाँटी दुख्नेलगायतका समस्या देखिएमा बिचलित नभई सावधानी अपनाउन नागरिकलाई सुझाव दिइएको छ।

प्रतिक्रिया दिनुहोस्